सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन आज सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।
यही पुस ११ गते आइतबार अपराह्न जडान गरिएको पेनस्टक पाइप परीक्षणका क्रममा भएको दुर्घटनामा इञ्जिनीयरद्वय अर्जुन थापा र सुबासराज रेग्मीको मृत्यु भएको थियो । मन्त्रालयले उनीहरूको निधनमा गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
दुर्घटनमा परेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्जले घटनाको छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति दिलाउन, भविष्यमा यस्ता घटना दोहोरिन नदिन माग गरेको बताए।