तामेकोट दरबारको विषयवस्तु समेटेर फिल्म बनाइने

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको गल्याङ नगरपालिका–५ स्यालबासमा रहेको झण्डै सातसय पुरानो दरबार ‘तामेकोट’ को विषयवस्तु समेटेर नेपाली फिल्म निर्माण गरिने भएको छ । तामेकोट दरबारको ऐतिहासिक विषयमाथि केन्द्रीत रहि फिल्म निर्माण गरिने भएको हो ।
स्यालबासमा जारी ‘हात्तीस्थान तामेकोट महोत्सब २०७८’ को अवसरमा सिनेमा निर्देशक यादव भट्टराईले साढे सातसय वर्षअघि अस्तित्वमा रहेको तामेकोट राज्यको कथामाथि फिल्म बनाउने घोषणा गरेका हुन् । हात्तीस्थान फाउन्डेसनले उक्त दरबारलाई पुनर्निर्माण गर्ने तयारी थालेको छ । तीन वर्षभित्र दरबार निर्माण गरेपछि मात्रै फिल्मको सुटिङ सुरु गरिने निर्देशक भट्टराईले बताए ।
‘अहिले दरबारको काम भइरहेको छ’ उनले भने, ‘छिट्टै दरबारको काम सक्ने तयारी गरेका छौ । दरबार निर्माण भएपछि एक वर्षभित्र फिल्मको सुटिङ सक्छौ । चार वर्षपछि मात्र फिल्म सार्वजानिक हुनेछ ।’ तत्कालीन तामेकोट राज्यको दरबार र ऐतिहासिक संरचना गल्याङ नपाको स्यालबासमा अहिले अवशेषको रुपमा मात्र देख्न सकिन्छ । दरबार पुनर्निमाणका परिकल्पनाकार डा शिवशंकर बस्यालको पहलमा फिल्म निर्माण कार्यको थालनी भएको हो । बस्यालले केही समयअघि दरबारको कथामाथि आधारित ’रानीफाल’ नामक उपन्यास लेखेका थिए ।
उक्त उपन्यास पढेपछि बस्यालको समन्वयमा फिल्म बनाउने योजना तय भएको निर्देशक भट्टराई बताउँछन् । फिल्म ’झोला’ का निर्देशक भट्टराईले केही महिना अघिदेखि साढे सात सय वर्षअघि अस्तित्वमा रहेको उक्त राज्यमाथि अध्ययन तथा अनुसन्धान गरिरहेका छन् । ‘अहिले म गाउँमा बसेर दरबारको अध्ययन गरिरहेको छु’ उनले थपे, ‘गाउँलेसँग, स्थानीय, प्रदेश सरकारसँग पनि दरबार बनाउने र त्यसपछि फिल्म बनाउने विषयमा छलफल भइरहेको छ ।’ उनले सरकारी तथा गैरसरकारी सवैको सहयोग रहेको बताए ।
फिल्म हात्तीस्थान फाउन्डेसनको समन्वयमा भट्टराईले एक्लै निर्माण गर्ने जनाएका छन् । फिल्मको लागि कति खर्च हुन्छ भन्ने बारे अहिले नै तय नभएको उनको भनाई छ । ‘फिल्मको कहानी यसरी सुरु हुन्छ, ‘तामेकोट राज्यमा एकजना विलासी राजा थिए । राजाका कारण त्यहाँका प्रजाहरूले निकै दुःख भोग्नुपरेको हुन्छ । राजाका रानी धेरै भएपनि एउटी चाँही रानीले राजालाई नजरबन्द गर्छिन र शासनलाई आफ्नो बागडोरमा लिन्छिन् । त्यसबेला राज्यभित्रको आन्तरिक षड्यन्त्र र बाह्य राज्यको आक्रमणविरुद्र रानीले बहादुरी पूर्वक लडेर जीवन आहुति दिएकी हुन्छिन् । यही विषयमाथि सुक्ष्म अध्ययन गरेर फिल्म बनाउँदै छु’ निर्देशक भट्टराईले भने । उनले आगामी दुई वर्षसम्म अध्ययन नै गर्नुपर्ने बताएका छन् । स्यालबासमा जारी महोत्सव १५ गतेदेखी सुरु भएको ३ दिनसम्म चल्नेछ । महोत्सव उद्घाटनमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ऐतिहासिक दरबार निर्माणमा सरकारको पनि ध्यानाकर्षण भएको र दरबार पुनर्निर्माणमा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यो निकै राम्रो कार्य हो’ मुख्यमन्त्रीले भने, ‘अवशेषमा रहेको दरबारलाई ब्युंझाएर साँस्कृतिक सम्पत्तिको संरक्षण गर्ने कुरामा प्रदेश सरकारको साथ र सहयोग छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *