बागलुङ जिल्लामा तीन स्थानीय तहमा सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको छ ।
बागलुङ नगरपालिका तथा काठेखोला र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने र पहिलो चरणमा बागलुङ नगरपालिकामा आगामी माघ १५ गतेदेखि अभियान सञ्चालन हुँदैछ । पशुचौपायामा देखिने खोरेत, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइनफिबरलगायतका खोप लगाइने पशु स्वास्थ्य अधिकृत केशव शर्माले जानकारी दिएका छन ।
रोगका कारण किसानले बर्सेनि क्षति भएको र हरेक वर्ष पशु उत्पादनमा भइरहेको क्षतिको न्यूनीकरणका लागि पूर्ण खोप अभियान सञ्चालन गर्न लागिएको हो । तीन पालिकामा फरक फरक समयमा खोप अभियान सञ्चालन हुने हरेक वर्ष पशुलाई लगाउनुपर्ने खोप नपाएका कारण रोगबाट पशुचौपाया प्रभावित हुने गरेका छन् । बङ्गुर, बाख्रा र भैँसीमा देखिने रोगका कारण किसान मर्कामा परेका छन् । सबै पशुलाई खोप निःशुल्क लगाइने भएकाले अभियान सञ्चालन भएका बेला खोजीखोजी खोप लगाउन विज्ञ केन्द्रले अनुरोध गरेको छ । यो अभियान बागलुङमा पहिलोपटक सुरुआत भएको हो ।
