गण्डकीको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ध्यानकर्षण पत्र बुझाएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारी सहितको समूहले २०७८ असोज ६ मा भएका ५ बुदेँ सम्झौता कार्यान्वयन नभएको बताउदै मुख्यमन्त्री नेपालीलाई ध्यानाकर्षण गराएको हो ।
सहमति पत्रमा सालबसाली कार्यक्रम अन्तर्गत महत्वपूर्ण योजनालाई संघबाट थप स्रोत प्राप्त हुदाँ व्यवस्थापन गर्ने, क्रमागत रहेका आधारभूत र एक घर एक घारा अन्तर्गत छुटेका कार्यक्रमलाई कार्यान्वयनमा लैजाने, ठेक्का गरिएका, निर्माणाधीन अवस्थामा रहेका झोलुङ्गेपुल वार्षिक विकास कार्यक्रममा समावेश नभएको भए आवश्यक बजेट व्यवस्थापन गर्ने, डीपीआर भएको झोलुङ्गेपुल, सडकपुल, खानेपानी, सिँचाई, भवन लगायतका योजनालाई प्राथमिकिकरण गरी उपलब्ध बजेटको आधारमा कार्यान्वयनमा लैजाने र अवण्डा रहेको बजेटलाई विगतको अभ्यास अनुसार वा सहमति कार्यविधिको आधारमा कार्यक्रम छनौट गर्न उल्लेख गरिएको थियो ।
सरकारको तर्फबाट भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र प्रतिपक्षको तर्फबाट प्रमुख सचेतक मायानाथ अधिकारीले लिखित सम्झौता गरेका थिए । सम्झौता अनुसार सरकारले काम नगरेको आरोप एमालेको छ । सोमबार पनि सालवसाली योजना, बहुबर्षिय योजनामा बजेट कटौती, कोरोना महामारी, विदेशी सहयोग गुमेको, यातायात कार्यालयमा भएको अनियमितताबारे छानविन गर्न माग राख्दै २० बुँदे माग राखेको छ । एमालेले यसभन्दा अघि गत साउन ३१ मा पनि यिनै माग राख्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो । वर्तमान सरकारले विगतमा निर्धारण गरिएका योजना र विकासका लक्ष्यहरुलाई कटौती गरेर नयाँ अझै गैरबजेटका योजनामा रकमान्तरण गरिरहेको आरोप एमालेको छ ।
‘गण्डकी सरकारको यस्तो रबैयाले यस प्रदेशका जनताको विकासको अपेक्षामा ठूलो कुठाराघात भएको छ’ ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘प्रदेशका गौरवका आयोजना र निर्धारण गरिएका बहुवर्षीय योजनाहरु सम्पन्न नगरी कसरी नयाँ योजनाहरु अघि बढाउन सकिन्छ ? सम्पन्न भइसकेका र हुँदै गरेका योजनामा बजेट व्यवस्थापन नगरी, कामलाई प्राथमिकतामा नराखी नयाँ योजनामा प्रवेश गर्नु बजेटको दुरुपयोग हो, लागत बढ्ने काम हो समय र बजेटको बर्बादी हो । यस्ता कमजोरी सरकारले सच्याउनु पर्दछ । सबै बहुवर्षीय योजनाहरु समय मै सम्पन्न गरिनुपर्दछ र सम्पन्न योजनाहरुको दोस्रो खण्डको काम प्रारम्भ गरिनु पर्दछ ।’ पहिचान गरिएका १२७ वटा खानेपानीका आयोजना सम्पन्न गर्नै पर्ने एमालेको दावी छ । विगतमा टेण्डर भएका योजनामा पनि बजेट नहाल्नु सरकारको कमजोरी रहेको अधिकारीले बताए । बाढी पहिरोले क्षति पु¥याएका योजना मर्मत सम्भारको लागि सरकारको ध्यान जानुपर्ने एमालेको भनाई थियो ।
‘मुख्यमन्त्री जलवायुमैत्री नमुना गाउँ र होमस्टे जस्ता गण्डकीका मौलिक कार्यक्रम कार्यान्वयन, बेरुजु रकम असुली, भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको ध्यान पुगेको देखिदैन’ अधिकारीले भने । मुख्यमन्त्री नेपालीले गतवर्षका सालवसाली योजनामा बजेट अभावका कारण बजेट कटौती गरिएको बताए । ‘अहिले सम्बोधन गरेका छौ । एक घर एक धारा कार्यक्रम कागजमा कार्यान्वयन भएको छ अव फिल्डमा कार्यान्वयन गर्छौ ।’ उनले वहुबर्षिय योजनाको लागि आवश्यक बजेट तय गरिएको बताए ।
