कोभिड व्यवस्थापनमा कमजोर बन्दै सरकार–नाकामै छैन कडाई

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लोसमय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टाको परीक्षणले पनि कोरोना पोजेटीभको संख्या बढेको देखाएको छ । यता, सरकारले गण्डकी प्रदेशमा कोरोना नियन्त्रणमा सवै शक्ति प्रयोग गरेको बताउदै आएको छ । तर, यर्थाथमा फिल्डमा भने सरकार कमजोर देखिएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका कृष्ण भण्डारीले लुम्बिनी र गण्डकी दुई प्रदेश जोड्ने राम्दी नाका खुला रहेको र कुनै पनि चेकजाँच नभएको बताए । कुखुरा व्यवसायी भण्डारी भन्छन, ‘काठमाण्डौ, भैरहवा गरिरहनुपर्छ । गण्डकीका दुवै नाका खुला छन् । यहाँ न कुनै हेल्थ पोष्ट देखिन्छ न त कुनै परीक्षण नै भएको छ ।’ उनले हेल्थ पोष्ट राखिएको भए पनि जनताले देख्ने गरि सार्वजानिक स्थानमा राख्नुपर्ने बताए । ‘कहाँ जाने किन जाने सीमानामा सोधीखोजी पनि हुदैन’ उनले भने ।
गण्डकी प्रदेश प्रवेश गर्ने नाका स्याङ्जाको राम्दी र तनहुँको आवुखैरेनीमा हेल्थ पोष्ट राखिएको र स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले तीजना स्वास्थ्यकर्मी पनि हेल्थ पोष्टमा खटाइएको बताए । ‘हेल्थ पोष्टमा परीक्षण गरेर मात्र प्रवेश गर्ने वातावरण बनाएका छौ’ उनले भने, ‘अहिले ज्वरो, रुघाखोकी लागेका विरामी धेरै छन् । परीक्षण गर्दा सवैलाई पोजेटीभ देखाउ“छ । हामीले चेक गरे पनि कडाईका साथ हुने भने सकेको छैन् ।’ उनका अनुसार सामान्य चेकजाँच गरिएको छ । एकै पटक ठूलो संख्यामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै खुला पारिएका नाका पुनः कडाई गर्नको लागि स्याङ्जा र तनहुँका प्रमुख जिल्ला अधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग अनुरोध गरेका छन् ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले नाकामा राखिएको हेल्थ पोष्ट प्रभावकारी नभएको बताउदै होल्डिङ सेन्टरकै स्थापना गर्न माग गरेका हुन् । ‘संक्रमित खुलमखुला जिल्ला प्रवेश गरेका छन्’ उनले भने, ‘स्याङ्जा मात्र नभई कास्की लगायतका जिल्लामा जाने जोकोही पनि आउने भएकाले जोखिम बढेको हो ।’ खुला सीमानाका कारण भारतीय गाडीको संख्या बढ्दो रहेको र भारतबाट नेपाल फर्किने नेपालीको पनि चेकजाँच नहुदाँ जोखिम बढेको उनले बताए । उनले नेपाली या भारतीय जोकोहीलाई पनि नाकामा परीक्षण गर्ने, यदी पोजेटीभ देखिएमा होल्डिङ सेन्टर राख्ने, विरामीलाई अस्पताल र नेगेटीभ देखिनेलाई घर पठाउने वातावरण सरकारले गर्नुपर्ने उनको भनाई छ । सचिव डा शर्माले अव होल्डिङ सेन्टर बनाएर नै परीक्षण कडाईको साथ गर्नुपर्ने बताए ।
मन्त्रालयको तथ्यांक अनुसार सवैभन्दा बढी संक्रमित कास्कीमा रहेका छन् । हिमाली जिल्ला मनाङ र मुस्ताङमा संक्रमित शुन्य छ । भारतसँग नाका जोडिएको नवलपुरमा भने संक्रमणको क्रास बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ओमिक्रोन नियन्त्रण गर्न शुक्रबार तत्काल बसेको वैठकमा प्रदेश स्वास्थ्य निर्देशक डा खिम खड्काले एन्टीजन परीक्षणमा सरकारले गति लिन नसकेको मुख्यमन्त्री समक्ष बताएका थिए । यसमा आफूहरु कमजोर बनेको उनले स्वीकारेका थिए । ‘अव एन्टीजन परीक्षणलाई बढाउनुपर्छ’ मुख्यमन्त्रीसमक्ष उनले भने, ‘अवबाटै परीक्षण दर बढाउनै सकिएन भने जोखिम नियन्त्रणमा समस्या हुन्छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले बढ्दो संक्रमण नियन्त्रणको लागि तत्काल आवश्यक तयारी थाल्न निर्देशन दिएकी छन् । उनले कोरोना नियन्त्रणका लागि नाकामा गरिने जा“च तीव्रता दिने, स्वास्थ्य उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन र अक्सिजन सिलिण्डर लगायतमा तयारी गर्न सचिव शर्मालाई निर्देशन दिएकी थिइन् ।
आवश्यकतानुसार आइसोलेसन सेन्टरको पनि थप व्यवस्थापन गर्न मन्त्रीले निर्देशन दिएकी हुन् । मुख्यमन्त्री नेपालीले ३ सय ५० जना करारमा स्वास्थ्यकर्मी नियुक्ति गर्दै कोरोना नियन्त्रणमा खटाइएको बताएका छन् । उनले प्रदेशको सवै शक्ति कोरोना व्यवस्थापनमा नै लागेको बताए । लमजुङमा विग्रिएको अक्सिजन प्लाण्ट मर्मत गर्ने, मनाङ, बाग्लुङ र स्याङ्जामा संचालनमा आउन नसकेको अक्सिजन प्लाण्टको पनि छिट्टै संचालन गर्ने र कर्मचारी विहीन हुदाँ ठप्प रहेको नवलपुरको पीसीआर मेसिन पनि संचालनको लागि कर्मचारी व्यवस्थापन गरिएको मन्त्रालयका सचिव डा शर्माले जनाएका छन् । कोभिडबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ३० रहेको छ । गण्डकीमा १८ वर्ष भन्दा माथिका ९४.८ प्रतिशतले पहिलो मात्रा र ८५.२ प्रतिशतले दोस्रो अर्थात पुरा डोज खोप लगाएका छन् भने १८ वर्षभन्दा कम उमेरका ४ प्रतिशत पहिलो र ३ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् । मन्त्रालयको तथ्यांक अनुसार गण्डकीमा ५ सय ८१ वटा आइसोलेसन वेड, २ सय १४ आइसीयू वेड, ८३ वटा भेन्टिलेटर र ४ सय ७२ वटा एचडियु वेड रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *