खरिद गरिएको ६ महिनापछि जिल्ला अस्पताल स्याङ्जाको अक्सिजन प्लाण्ट मंगलबार जडान गरिएको छ । अस्पतालमा प्लाण्ट संचालन गर्न प्राप्त विद्युत्त आपूर्ति नहुदाँ गत भदौमा खरिद गरिएको उक्त अक्सिजन प्लाण्ट यत्तिकै थन्क्याइएको थियो । कोरोना संक्रमितलाई थप व्यवस्थापनको लागि अस्पताल समितिले गत जेठमा खरिद प्रकृया अगाडि बढाई असारमा टेण्डर गरेको थियो ।
सो अनुसार भदौमा प्लाण्ट खरिद गरिएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जनाए । संघीय सरकारको एक लाख ३६ हजार अनुदानमा अक्सिजन प्लाण्ट खरिद गरिए पनि थप विद्युत्तको ट्रान्समिटर खरिद गरिएको थिएन । यसो त, सप्लायर्स कम्पनीले अक्सिजन प्लाण्टमा आवश्यक बुष्टर लगायतका केही मेसिन पनि नल्याएकाले प्लाण्ट यत्तिकै थन्किएको प्रजिअ पौडेलले बताए । उनका अनुसार चीनको नाका केरुङमा नै सामान थन्किएको भन्दै कम्पनीले सामान पु¥याएको थिएन् । सप्लायर्सलाई फोनमार्फत एक हप्तामा खरिद प्रकृयामा उल्लेख भए अनुसारका सामान ल्याउन भनेपछि गतहप्ता मात्रै अपुग सामान अस्पताल प्राङ्गणमा आएको उनले बताए ।
‘कोरोनाको तेस्रो लहर सुरु भए लगत्तै जिल्ला अस्पतालको अक्सिजन प्लाण्ट संचालनमा किन आएर भनेर चासो राखेको थिए’ उनले भने, ‘विद्युत्त समस्या देखाउदै जडान गरिएको रहेनछ ।’ जिल्ला अस्पताल क्षेत्रमा हालसम्म एकसय केबीएको विद्युत्त जडान गरिएको थियो । जसमा अस्पतालले ५० र स्थानीयले ५० केवीए विद्युत्त प्रयोग गर्दै आएका थिए । उक्त अक्सिजन प्लान्टका लागि थप ५० केबीए विद्युत क्षमता आवश्यक पर्छ । आवश्यक विद्युत्तको व्यवस्था नहुदाँ अक्सिजन प्लाण्ट यत्तिकै थन्किएको प्रजिअ पौडेलले बताए ।
जिल्ला अस्पतालले थप विद्युत्त आपूर्तिका लागि नयाँ ट्रान्समिटर खरिदको लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेको छ । नयाँ ट्रान्समिटर जडानको लागि करिव २५ लाख रुपैयाँ अपुग हुने र सो अनुसार नै बजेट माग गरिएको अस्पताल स्रोतले जनाएको छ । प्रदेशबाट उक्त फाइल संघीय स्वास्थ्य मन्त्रालयमा पुगेको भए पनि तत्काल थप बजेट निकासा हुन समय लाग्ने बताउदै उनले भने, ‘यदी बजेट निकासा भइहाले पनि बजेट निकासा तथा सार्वजानिक खरिद प्रकृयाको समय लामो हुने भएपछि उक्त क्षमताको ट्रान्समिटर खरिद गर्न लामो समय लाग्छ ।’ कोरोना संक्रमण बढ्दो अवस्थामा रहदाँ खरिद प्रकृयाको समय लामो हुने भएपछि प्रजिअले नेपाल विद्युत्त प्राधिकरण स्याङ्जा तथा प्रदेश विद्युत्त प्राधिकरणसँग समन्वय गरि २ सय केवीए क्षमताको ट्रान्सफर्मर जडान गर्न निर्देशन दिए ।
उनले तत्काललाई भइरहेको एकसय केवी विद्युत्तलाई बढाएर २ सय बनाउन अनुरोध गरे । प्रजिअको निर्देशन बमोजिम १० दिनमा नेपाल विद्युत्त प्राधिकरणबाट २ सयको ट्रान्समिटर जडान भयो । अस्पताल क्षेत्रमा २ सय केवीएको विद्युत्त जडान भएपछि अक्सिजन प्लाण्ट संचालन गर्न सफल भएको पौडेलको भनाई छ । उनका अनुसार अस्पताल क्षेत्रमा अझै ५० केवी विद्युत्त सुरक्षित रहन्छ । यसभन्दा अघि जिल्ला अस्पतालमा १० वटा मात्र सिलिण्डर भर्न मिल्ने सानो अक्सिजन प्लाण्ट थियो । मंगलबार संचालनमा आएको अक्सिजन प्लाण्ट जिल्लाकै ठूलो रहेको बताउदै उनले यसबाट दैनिक ७० वटा सिलिण्डर ग्याँस भर्न सकिने बताए ।
‘हामीले उत्पादन सुरु गर्यौ’ खुशी हुदैँ प्रजिअ पौडेल भन्छन, ‘अव जिल्लामा अक्सिजनको अभावले कोही मर्नु पर्दैन । कोरोना जस्तै जति ठूला महामारी आएपनि जिल्लामै अक्सिजनको कमी हुदैन ।’ उनले जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गरि अन्य स्वास्थ्य संस्थालाई विक्री गर्न समेत सकिने बताए । अक्सिजन प्लाण्ट निरन्तर संचालनमा ल्याउन सकेमा स्याङ्जा अक्सिजनमा आत्मर्निभर भएको उनको भनाई छ । सामान्यतः एउटा सिलिन्डरमा ६४ सय लिटर अक्सिजन रहन्छ । गतवर्ष गण्डकी प्रदेश सरकारले प्रदेशका एघारवटै जिल्लामा अक्सिजन प्लाण्ट जडान गर्ने कार्यक्रम तय गरेको थियो । सो कार्यक्रम अनुसार विद्युत्त समस्याकै कारण मनाङ्मा पनि अक्सिजन प्लाण्ट जडान गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जनाएका छन् । उनकाअनुसार बाग्लुङको धौलागिरी अस्पतालमा पनि खरिद सामान आइनपुगेकाले जडान गर्न सकिएको छैन् ।
