पोखरा महानगरपालिकाले ४ वर्षको अन्तरालमा ४४ वटा ऐन बनाएको छ । शुक्रबार दशौ नगरसभामा बोल्दै वडा नम्बर १९ का वडाध्यक्ष समेत रहेका नेकपा एमालेका सचेतक शोभामोहन पौडेलले साढे ४ वर्षमा महानगरले ४४ वटा ऐन बनाएको बताए । उनका अनुसार दशौ नगर सभाबाट एउटा ऐन पारित हुन्छ सो सँगै ४५ वटा ऐन निर्माण हुनेछन् ।
यस्तै, महानगरले हालसम्म २२ वटा नियमावली बनाएको छ भने, ३१ वटा कार्यविधि, २२ वटा निर्देशिका या मापदण्ड र ४ वटा नीति बनाएको उनले बताए । दशौ नगरसभाले यसअघि पारित भएका ४ वटा ऐन संशोधन गर्दैछ । पौडेलले जनप्रतिनिधिले पोखरा बसपार्कको चुनावी एजेण्डा बनाए पनि त्यसमा काम गर्न नसकेको स्वीकारेका थिए । ‘जवसम्म पोखराका सवै दल एक ठाउँमा हुदैनन तवसम्म पोखरामा कुनै बसपार्क बन्दैन’ उनले भने, ‘पोखरा स्मार्ट सिटीको रुपमा अगाडी बढाउने भनेका थियो त्यो अनुसार काम गर्न सफल भएका छौ ।’ फेवातालको सीमाना विवादलाई पनि निकास दिनुपर्ने बताएका थिए ।
फोहोरमैला व्यवस्थापनमा पनि महानगरले ठोस निर्णय गर्नुपर्ने उनको भनाई थियो । कांग्रेसका सचेतक एवं ९ नम्बरका वडाध्यक्ष रामराज लामिछानेले महानगरमा धेरै राम्रा काम भए पनि केही काम अधुरै रहेको बताएका थिए । महानगरप्रमुख मानबहादुर जिसीले अहिले विशम परिस्थितिमा रहदा पनि जिम्मेवारी ठूलो रहेको बताएका थिए । विरामी भएको लामो समयपछि कार्यस्थल फर्कन पाएकोप्रति खुशी व्यक्त गर्दै उनले बाँकी कामलाई छलफलबाट निष्कर्ष गरी कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
