मुद्धा हारेको भए पनि जितेको भन्दै थप पारिश्रमिक मागेको र अदालतको फैसलाको छायाँप्रति लिन २ हजार रुपैयाँ राजस्व मागेर ठगी गरेको भन्दै जाहेरी परेपछि कास्की प्रहरीले कानुन व्यवसायी कमलप्रसाद अर्याललाई मंगलबार पक्राउ गरेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकका रामबहादुर दमैले सोमबार अर्यालविरुद्ध ठगी मुद्धामा जाहेरी दिएका थिए । सोमबारै दर्ता भएको जाहेरीका आधारमा मंगलबार प्रहरीले पक्राउका लागि कास्की जिल्ला अदालतबाट आदेश लिएको थियो । अर्याललाई साँझ पोखरा–१७ पार्दीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । अर्याल पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार हुन ।
अर्यालले भैंसी धनिसम्बन्धी विवादको एक मुद्धामा दमैको पक्षबाट बहस गरेका थिए । गत असोज ७ मा कास्की जिल्ला अदालतले भैंसी रामबहादुर दमैको नभएको फैसला गरेको थियो । मुद्धामा हारे पनि अर्यालले मुद्धा जितेको भन्दै आफ्नो पक्षका दमैसंग थप पारिश्रमीक भन्दै ५ हजार रुपैयाँ मागेका थिए । साथै मुद्धा जितेकोमा बधाइ भन्दै ढाप पनि मारेको दमै बताउँछन । उतिबेला मुद्धा जितेको कागज माग्दा ३५ दिनपछिमात्रै पाइने भनेका थिए अर्यालले । त्यस अवधिपछि लकडाउनको हल्लाले दमै अदालतको फैसला हेर्न आएनन । मंसिर अन्तिम साता फैसलाको कागज माग्दा अर्यालले तपाइ टाढाबाट किन दुख पाउनुहुन्छ, कोही आफन्त भए पठाइदिन भनेका थिए । दमैले एकजना आफन्तलाई अर्यालसंग फैसलाको छायाँप्रति लिन पठाउँदा २ हजार रुपैयाँ राजस्व लाग्ने भन्दै अर्यालले पैसा लिएका थिए । ‘बहस गर्नुभन्दा अघि ५ हजार र बहसपछि मुद्धा जितेको भन्दै थप ५ हजार मागेपछि दिए’ दमैले भने, ‘अदालतको आदेश पढ्दै जाँदा आफुले मुद्धा हारेको थाहा लाग्यो । अनि ठगिएछु भनेर जाहेरी दिएको हुँ ।’ आफुले मुद्धा हारेको थाहा पाएपछि अर्यालसंग सम्पर्क गर्दा न्यायाधीशले टाउको हल्लाएकाले जितियो भनेर ठानेको र उच्च अदालतमा जान सकिने प्रतिक्रिया दिएको दमैले बताए । उनले अर्याललाई २३ हजार रुपैयाँ विभिन्न शुल्कबापत दिएको भएपनि जाहेरीमा भने २१ हजारमात्रै जनाएको बताए । अर्याललाई बुधबार जिल्ला अदालतमा ठगी सम्बन्धि मुद्दामा म्याद थपको तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तो हो भैंसी धनी विवाद
रामबहादुर दमैले २०७६ जेठमा आफ्ना १–१ वर्षका दुईवटा पाडा मोक्यु लेकको गोठमा पुयाए । दाइ सुकबहादुरले व्यावसायिक गाइभैंसीपालन गरेकोले उनकै गोठमा रामबहादुरले पाडा छोडेका थिए । घान्द्रुकका लेकमा चर्दाचर्दै सोही वर्षको फागुनमा दुबै पाडा हराए । २०७८ असारको २७–२८ मा उनले अन्नपूर्ण–८ दाङसिङको थमडाँडामा २ नयाँ पाडा देखापरेको खबर पाए । बर्खा भएकोले उतिबेलै जान सकेनन् । साउन ६ मा उनी छोरालाई लिएर थमडाँडा पुग्दा थमडाँडा सामूहिक अग्र्यानिक कृषि तथा पशुपंछी फार्ममा २ पाडा भेटिए । उनले आफ्नो भैंसी भन्दै गोठालासँग दाम्लो मागेर भैंसी लिएर घर फर्के । त्यसको एकसातापछि फर्मका सञ्चालक रामप्रसाद ढुंगाना, दिनेश गुरुङलगायत रामबहादुरकोमा पुगेर भैंसी आफ्नो भएकोले फिर्ता दिन भने । माघ १० मा दुई भैंसी लामखेतका सविन तिवारीसँग ५३ हजार रुपैया“मा किनेको उनीहरुले बताएका थिए । घान्द्रुकस्थित प्रहरी चौकी र स्थानीय भद्रभलाद्मीसहित दुईपक्षबीच छलफल भयो । भैंसी कसको भन्ने टुंगो लागेन । ढुंगानासहितको टोली गाउ“पालिकाकै वीरेठाँटी चौकीमा पुग्दा प्रहरीले वडा प्रहरी कार्यालय बगर पोखरा जान भन्यो । कोरोना कहरका कारण बगरमा छलफल हुन नसकेपछि गाउँमै मिलाउन भन्दै फर्काइयो । फर्म सञ्चालकले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए । गाउ“पालिका उपाध्यक्ष सगुन गुरुङ संयोजक रहेको न्यायिक समितिले भैसी ढुंगानाको रहेको निर्णय गयो ।
न्यायिक समितिको निर्णय चित्त नबुझेपछि रामबहादुृरले २०७७ असोज २१ मा उक्त निर्णय बदरको माग गर्दै कास्की जिल्ला अदालतमा रिट दायर गरेका थिए । तर अदालतले पनि न्यायिक समितिकै निर्णयलाई सदर गरिदिएको थियो ।
