ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ का ५० वर्षिय शंकर सुवेदीलाई प्रहरीले बुधबार आफ्नै घरबाट पक्राउ गरेको हो । सुवेदी गाउँघरमै लुकीछिपी बस्दै आएका थिए । फरार रहेको २० वर्ष १० महिना ३ दिनपछि सुराकीको आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार विहीबार आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गराइएको र अदालतले कैद सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरेको छ । प्रहरीका अनुसार सुवेदीले २०५३ वैशाख २ मा स्थानीय बलबहादुर बोगटीलाई वियरको बोत्तलले टाउकोमा हानी घाइते भएका थिए । बोगटीलाई घाइते बनाएपछि उनले घरको केही रकमसमेत चोरी गरेको भनी बोगटीले प्रहरीमा ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दिएका थिए ।
मुद्दा प्रहरीकोबाट जिल्ला अदालत पुगेको थियो । अदालतले तत्कालीन समयमा धरौटीमा छाडेको हुन सक्ने आकंलन डीएसपी अधिकारीको छ । उनले पुराना मिसिल नभएका कारण मुद्दाको पुरा विवरण पनि नभएको बताए । उनका अनुसार मुद्दा ज्यान मार्ने उद्योगबाट कुटपिट तिर गएको हुन सक्ने भएकाले धरौटीमा छाडेको आंकलन हाम्रो छ । अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालत पोखरामा रिट पर्यो । तत्कालीन पुनरावेदन अदालतले २०५८ वैशाख २ मा ५ वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि सुवेदी पुन सर्वोच्च अदालत गए । तर, सर्वोच्चले पनि पुनरावेदनकै फैसला सदर गरिदियो । अदालतको फैसलापछि सुवेदी हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयका मुद्दा प्रमुख प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले २०५३ को भएकाले प्रहरी कार्यालयमा पुराना मुद्दाको फाइल नै नभएको बताए । ‘हामीसंग २०५८ भन्दा अघिका फाइल छैनन’ उनले भने, ‘पुराना मुद्दाको विवरण नहुदाँ अनुसन्धानमा धेरै समस्या भएको छ ।’ २०५८ मा तत्कालीन माओवादीले जिल्ला प्रहरी कार्यालय आक्रमण गर्दा मुद्दाका सवै कागजातहरु जलाएर नष्ट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *