दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैनः मुख्यमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव नहुने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बताएका छन् । लामोसमयको अवरोधपछि दुम्कीबास त्रिवेणी सडकखण्ड खुल्न लागेको भन्दै यसले नवलपुर मात्र नभई समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने उनले बताएका छन् । शुक्रबार विनयी त्रिवेणी गाउ“पालिकामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार स्थापनादेखि नै उक्त मार्ग खोल्न प्रयास भए पनि अहिले आएर प्रक्रिया अगाडि बढेको सुनाए ।
संघको वन तथा वातावरण मन्त्रालयमा माघ १७ मा मुख्यमन्त्री आफै पुगेर पहल गरेपछि फाइल अगाडि बढेको थियो । डिपिआरको काम सुरु भइहाल्ने बताउदै उनले निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले युनेस्कोले पनि छिटै यसको निकास दिने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहा“ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्रीले दुम्किबासदेखि त्रिवेणी जोड्न बाटोको लागि रकमका लागि कुनै अभाव नहुने पनि बताए । उनले भने, ‘प्रदेशले पनि यसका लागि बजेटको प्रबन्ध गर्छ, संघ सरकारले पनि यसका लागि पर्याप्त बजेट छ भनेको छ, तपाईंहरु अब ढुक्क हुनुहोस’ उनले भने । यो खर्चिलो भए पनि बहुवर्षेमा लगेर काम हुने उनले बताए । मुख्यमन्त्रीसहित अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, प्रमुख सचिव रवीलाल पन्थ, अर्थ सचिव वैकुन्ठ अर्यालसहितको टोलीले दुम्कीवास त्रिवेणी खण्डको बाटो अवलोकन गरेका छन् ।
अवलोकनपछि गाउँपालिकाका कार्यालयमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष डम्बरबहादुर जिसीले उत्तरमा पाल्पादेखि दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिका विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गरे । सबैभन्दा ठूलो समस्या निकुन्ज क्षेत्रको बाटो नखुल्नु रहेकोमा अब त्यसको निकास निस्केकोमा उनले खुसी व्यक्त गरे । बाटो नखुल्दा त्रिवेणी क्षेत्रका पालिकाका २ वडाका बासिन्दा प्रदेश नम्बर ५ हुदै पालिका केन्द्रमा आउनुपर्ने वाध्यता अब छिटै अन्त्य हुने विश्वास उनले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *