फेवातालको पानी मंगलबारदेखी घटाइने भएको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले पानी घटाउन लागेको हो । फागुन १० देखी आगामी वैशाख ३० सम्म पानीको सहत घटाइने भएको कार्यालय प्रमुख किरण आचार्यले बताएका छन् ।
सिद्धार्थ राजमार्गको विरौटा चोकदेखि एकसय मिटर पश्चिममा रहेको सिंचाइ नहरमा पर्ने कल्भटलाई दुवैतर्फ चौडा गर्ने क्रममा पानीको सतह घटाइन लागेको प्रमुख आचार्यले बताए । कल्भट निर्माण गर्दा पानीको प्रवाह निरन्तर भएकाले निर्माणमा अवरोध भएपछि पानीको सतह घटाउन लागिएको उनको भनाई छ । सडक डिभिजन कार्यालय पोखराले कल्भट बनाउनको लागि फेवातालबाट बग्ने पानीले अवरोध गरेको भन्द्र सिंचाई कार्यालयलाई पत्राचार गरेको थियो ।
उक्त पत्रको आधारमा सिंचाई कार्यालयले फेवातालको ड्याम बन्द गर्दा समेत पानीको वहाव बढी भएर नरोकिएपछि पानी घटाउन बाध्य हुनुपरेको जनाएको छ । कल्भर्ट निर्माण गर्नको लागि फेवातालको कुल गहिराइको २० सेन्टिमिटर बराबरको ५ करोड लिटर पानी घटाइने कार्यालय प्रमुख आचार्यले जानकारी दिए । गतवर्ष पनि कार्यालयले फेवातालको बाध मर्मतको लागि फेवातालको पानी घटाएको थियो । पहिलो बाध निर्माण गर्नुपर्ने भएकाले ताल धेरै सुकाउनुपरेको भए पनि यसपटक त्यति धेरै सुकाउनु नपर्ने बताउदै उनले भने, ‘गतवर्षको तुलनामा अहिले १० गुण कम पानी घट्छ ।’ गतवर्ष तालको पानी घटाउदा सोही मौका पारेर ताल वरीपरी संरचना बनाउने क्रम बढेको थियो ।
