स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)का कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । नगरपालिकाले उनीहरुलाई नगद रकम उपलब्ध गराएको हो । नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख भुपराज अधिकारीले बताए ।
२०७८ असार २३ देखि पुस ४ सम्म कोरोना भाइरस (कोभिड १९)बाट निधन भएका ५३ जनाका परिवारलाई प्रति परिवार २५ हजारका दरले १३ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । अस्पतालको रिपोर्ट तथा वडा कार्यालयको सिफारिसका आधारमा रकम उपलब्ध गराइएको हो । ‘कोरोना भाइरसका कारण निधन भएका परिवारलाई थोरै भए पनि क्रिया खर्च वापतको रकम उपलब्ध गराइएको हो’ उनले भने । कोभिड–१९ को रोकथाममा नगरपालिका लागि परिरहेको अवस्थामा पनि केही व्यक्तिको निधन भएकाले परिवारलाई सहयोग गरिएको उनले बताएका छन् । उनीहरुका परिवारका सदस्यलाई नगरपालिकाले रोजागारीका लागि उच्च प्राथमिकता दिने समेत नगरप्रमुख अधिकारीले बताए ।
