अव सवारी साधनमा इम्बोष्ट नम्बर

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश अन्तर्गत दर्ता गरिएका सवारी साधनमा इम्बोष्ट नम्बर जडान कार्य थालिएको छ । शुक्रबार यातायात व्यवस्था कार्यालय पोखराले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको बा १ झ ३५० नम्बरको स्क्वारपियोमा इनबोष्ट नम्बर जडान गरि अभियान सुरु गरेको हो । अव यस गाडीको नम्बर वीएए ०५०१ रहनेछ ।
यस्तै, यातायात कार्यालयकै मोटरसाइकलमा पनि जडान गरिएको छ । उक्त मोटरसाइकलको नम्बर अवदेखी बीएएए ४५०१ रहने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले पहिलोदिन कार्यालयकै दुई र चार पाङग्रे दुईवटा सवारीमा इम्बोष्ट नम्बर जडान गरिएको बताए । ‘हामीले एउटा कार्यक्रम राखेर नै जनतालाई जानकारी दिनको लागि सुचना प्रकाशन गर्छौ’ उनले भने, ‘यसको लागि तयारी भइरहेको छ ।’ यातायात व्यवस्था विभागले गत मंसीर १ देखी नै इम्बोष्ट नम्बर जडान गर्न निर्देशन गरेको थियो ।
कार्यस्थल र जनशक्ति अभावका कारण तोकिएको समयदेखी नै इम्बोष्ट नम्बर जडान कार्य सुरु गर्न नसकिएको कार्यालय प्रमुख रिजालले बताए । विभागले दिएको निर्देशन अनुसार कार्यालयले २०८० सम्म जडान गर्नुपर्ने हुन्छ । विभागले सातवटै प्रदेशमा इम्बोष्ट नम्बर राख्न निर्देशन दिएको भए पनि बाग्मतीपछि गण्डकी प्रदेशमा मात्र यो अभियान सुरु भएको छ । विभागबाटै नम्बर जडानको लागि प्राविधिकसहितको कर्मचारीको टोली खटाइएको छ । देशभर २५ लाख गाडी दर्ता भएका छन् । गण्डकी प्रदेशमा मात्रै २ लाख ८६ हजार सवारी साधन दर्ता छन् । अन्य प्रदेशमा दर्ता भएका सवारीलाई भने गण्डकीमा इम्बोष्ट नम्बर राखिदैन ।
‘जुन प्रदेशमा दर्ता भएका सवारी छन् त्यही जानुपर्छ’ रिजालले भने, ‘हामीसँग समय धेरै छैन् । यसलाई दैनिकरुपमा निरन्तरता दिनुपर्नेछ ।’ पहिलोपटक दुई पाङग्रे र पछिल्लो लटमा चार पाङग्रे सवारीमा नम्बर टाँस्ने तयारी कार्यालयको छ । कार्यालयका अनुसार तोकिएको समयभित्र काम सक्नको लागि दैनिक ५÷६ सय सवारीमा इम्बोष्ट नम्बर राख्नुपर्छ । तर, यो सम्भव छैन् । रिजालका अनुसार जनशक्ति अभाव हुदाँ दैनिक एकसयको हाराहारी काम हुनेछ । सवारी साधनमा हाल भएका नम्बर प्लेटलाई फालेर डिभाइससहित नयाँ नम्बर राखिने उनले जानकारी दिए । यसको लागि सवारी धनीले यातायात व्यवस्था विभागको वेवसाइडमा गएर विलवुकको आधारमा फारम भर्नुपर्ने हुन्छ । उक्त फर्मसहित नागरिकताको फोटोकपीसहित आवश्यक कागजात लिएर यातायात कार्यालयमा जानुपर्नेछ । कार्यालयमा राजस्व काटेपछि फर्म मिलेको छ या छैन रुजु गरिन्छ । फर्म भेरिफाई गरेपछि नम्बर सर्च गर्दा उपलब्ध भएमा कार्यालयले इम्बोष्ट नम्बर जडान गरिदिनेछ । 
यसको लागि नयाँ नम्बर र प्लेट कार्यालयमा तयारी गरेर राखिएको हुन्छ । इम्बोष्ट नम्बर जडानको लागि २५ सयदेखी ३६ सय रुपैयाँ राजस्व लाग्छ । रिजालका अनुसार दुई पाङग्रे अर्थात स्कुटर, मोटरसाइकलको लागि २५ सय रुपैयाँ राजस्व लाग्छ । यस्तै, चार पाङग्रे जीप, कार, भेनलाई ३२ सय र ठूला गाडीको लागि ३६ सय रुपैयाँ राजस्व लाग्छ । हाल भइरहेका साधारण नम्बरमा लोकेशन ट्रयाक गर्न सकिदैन । इम्बोष्ट नम्बर जडान गरेपछि सवारी कुन रोडमा कहाँ गुडेको छ सवै लोकेशन ट्रयाक गर्न मिल्छ । सवारीभित्र डिभाइस पनि जडान गरिने भएकाले ट्राफिक प्रहरीसँग सवै सवारी साधनको रेकर्ड रहनेछ । सवारी हिडिरहदा बाटोबाटोमा विवरण टिपाइरहनुपर्दैन् । ट्राफिकसँग सवै सवारीको रेकर्ड हुने भएपछि अपराधमा संलग्न सवारीको पनि खोजी गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ । सडक दुर्घटना, सडक सुरक्षाको लागि इम्बोष्ट नम्बर उपयुक्त हुने प्रहरीको भनाई छ । यातायात व्यवस्थापनमा पनि प्रभावकारी हुने यातायात कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *