प्रत्येक पालिकामा महिलालाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्र ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाउनको लागी परिपत्र गरेको छ। कूल ७५३ स्थानीय पालिकामा महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीले जनाएको छ।
यस्तै, पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने व्यवस्था गरेको छ। महिलाको संख्या पुरूषको भन्दा बढी भएकाले पनि नयाँ वैकल्पिक नेतृत्वको विकास गर्ने उद्देश्यका साथ महिलालाई उम्मेदवारीमा प्राथमिकता दिनुपर्ने परिपत्रमा उल्लेख गरीएको छ।
महिलाले नेतृत्व गरेको पालिकामा विकास निर्माणको काम प्रभावकारी भएको, बेरूजु जस्ता विषयमा कुनै समस्या नभएको एवं जनताको माग अनुसारको काम भएको निष्कर्षका साथ उक्त व्यवस्था गरिएको जनाएको छ। माओवादीको विधानअनुसार स्थानीय पालिका समितिमा ३५ प्रतिशत बराबरको सहभागिता महिलालाई गराएको र सात प्रदेशमध्ये गण्डकी र कर्णाली प्रदेशको नेतृत्वसमेत माओवादीले महिलालाई प्रदान गरेको छ।
नेपालको संविधानले राज्यका हरेक निकायमा महिलाको सहभागिता ३३ प्रतिशत हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको र संविधानको प्रावधानभन्दा पनि अगाडि बढेर माओवादीले आफ्ना समितिमा ३५ प्रतिशत बराबरको हिस्सा महिलालाई उपलब्ध गराएको छ।
माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार माओवादी केन्द्रको पछिल्लो परिपत्रले महिलाको नेतृत्व विकास एवं वैकल्पिक नेतृत्व तयार पार्न सहयोग गर्नेछ।
माओवादीले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न उम्मेदवार सिफारिस गर्न विशेष जोड दिएको छ। अध्यक्ष प्रचण्डको सर्कुलरमा विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिका मा एउटा वडाध्यक्षमा महिला उम्मेदवारी दिनको लागी जोड दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *