स्याङ्जामा जीप दुर्घटना– सात महिनाको बच्चासहित ५ जनाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा भएको जीप दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । आइतबार विहान अन्दाजी १० बजेको समयमा डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । जीपमा ११ जना सवार थिए ।
दुर्घटनामा सात महिनाको गौरव सारु, उनको आमा २५ वर्षिया शर्मिला सारु, ६५ वर्षिय विरवहादुर दाला, ४५ वर्षको हिरा दाला र ६१ वर्षकी कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । उनका अनुसार ११ सवारमध्ये ६ जना घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी ६० वर्षिय अंगवहादुर दाला, ५५ वर्षकी मायाकुमारी सारु, ३५ वर्षको योगेन्द्र थापा, १८ वर्षकी नविना सारु, १९ वर्षकी लक्ष्मी दाला र ६० वर्षिय दलबहादुर थापा रहेका छन् ।

मृत्तक र घाइते सवै जना डाँडाखर्क (एउटै) गाउँका हुन् । दलबहादुर, मायाकुमारी, लक्ष्मी र अंगबहादुर (चार जना)को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चारै जनालाई छाती र छाउकोमा बढी चोट लागेको छ । प्राथमिक स्वास्थ्य चौकी वालिङमा सामान्य उपचारपछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । यस्तै, नविना र योगेन्द्रको अवस्था मध्यम रहेको छ । उनीहरुको प्राथमिक स्वास्थ्य चौकी वालिङमै उपचार भइरहेको इन्सपेक्टर थापाले बताए । दलबहादुर जीप चालक हुन् । जीप के कारणले दुर्घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *