स्थानीय स्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा जोड दिंदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ सञ्चालनमा ल्याएको छ । नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाईएको उहाँले बताउनुभयो ।
‘स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गरी निर्माण गरिएका तानका कपडा, स्वीटर, गरगहना, उपहार, अन्य हस्तकलाका सामग्रीहरु कोसेली घरमा राखेका छौं’ उनले भने, ‘स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरुको प्रचारप्रसार हुनुका साथै बजारीकरणका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वासमा छौं ।’ वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने क्रममा खाद्य तथा तरकारी र मासुजन्य उत्पादनलाई ब्यवस्थित गर्नका लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिईएको छ ।
सामूहिक वा ब्यक्तिगतरुपमा स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी सामग्री उत्पादनमा जोड दिन नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए । ‘नगरभित्रका विभिन्न ठाउँमा सामूहिक वा ब्यक्तिगतरुपमा स्थानीय स्रोत र साधनको उपयोग गरी हस्तकलाका सामग्रीहरु उत्पादन र ब्यवसायीकरणमा जोड दिएका छौं’ उनले पुनः भने, ‘सामूहिक वा ब्यक्तिगतरुपमा उत्पादन भएका सामग्रीको प्रचार प्रसार र बजारीकरणमा ध्यान दिंदै नगरपालिकाले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याएको हो ।’
विशेषगरी नगरपालिका सामग्री उत्पादन गर्ने उत्पादक र उपभोग गर्ने उपभोक्ताबीचमा समन्वयकारी भूमिकामा रहेको छ । पारदर्शी सिसाबाट निर्मित कोसेली घरमा उत्पादन गर्ने संस्था वा ब्यक्तिको नाम, सम्पर्क नं. वस्तुको मुल्य देखिने गरी राखिएको छ । उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर नगरपालिकाले दुई पक्षलाई जोडिदिने काम गरेको स्वस्तिका बैदिक हस्तकला उद्योगकी सञ्चालक दुर्गा न्यौपानेले बताइन् । ‘आँफूजस्तै अन्य उत्पादकले उत्पादन गरेको सामग्री कोसेली घरमा राखेर नगरपालिकाले प्रचार प्रसारसँगै बजारीकरणका लागि निक्कै राम्रो काम गरेको छ’ ब्यवसायी न्यौपानेले भन्छिन, ‘यस कार्यले आगामी दिनमा अझै नयाँ नयाँ सामग्रीहरु उत्पादन गर्नतर्फ उर्जा मिलेको छ ।’
नगरपालिकाभित्रका विभिन्न ठाउँबाट तथा अन्यत्रबाट नगरपालिकाको भ्रमणमा आउनेहरुले नगरपालिका परिसरमा निर्माण गरिएको कोसेली घरमा राखिएका सामग्रीहरुको अवलोकन गर्ने र मन परेका सामग्री खरिद गरेर लैजाने गरेका छन् ।
