स्याङ्जा घर भई पोखरा बस्दै आएका मतदाताको लागि का“ग्रेसले बुधबार र विहीवार गाडीको व्यवस्था गरेको छ । सामाजिक संजालमा सम्पर्कको लागि मोवाइल नम्बर राख्दै प्रचार गरिएको छ । पुतलीबजार नगरपालिका–४ रामकोशका कमल सुनारले आफ्ना मतदाता लैजानको लागि काँग्रेसले सवारीको व्यवस्था गरेको उनले जानकारी दिए ।
शुक्रबार हुदै गरेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पोखराबाट विभिन्न जिल्ला जानेको संख्या बढ्दै गएको छ । विभिन्न जिल्ला घर भई रोजगारी, व्यवसायी, अध्ययन गर्नको लागि पोखरा बस्दै आएकाहरु धमाधम घर फर्किने गरेका छन् । बुधबारदेखी घर जानेको चटारो छ । कतिपय विहीवार मात्रै घर फर्किने तयारीमा छन् । दुई दिनदेखि पोखरामा चहलपहल घटेको छ । सवारी साधनमा पनि त्यति भीड नरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रकाश ठकुरीले जानकारी दिए ।
प्रहरी निरीक्षक ठकुरीका अनुसार पोखराको भीड कम हुदै गए पनि कति संख्यामा मतदाता बाहिरिए भन्ने तथ्यांक छैन् । ‘बुधबारदेखी ट्राफिक प्रहरी निर्वाचनको लागि खटिएका छन्’ उनले भने, ‘अहिले सडकमा ट्राफिक प्रहरी छैनन् । जसका कारण कुन रुटमा कति सवारी बाहिरिए भन्ने तथ्यांक भएन् ।’ उनले दुई दिनको अन्तरालमै ठूलो संख्यामा भीड कम भएको बताए । नीजि क्षेत्रका कर्मचारी गाउँ फर्किएका छन् भने, सरकारी कर्मचारी निर्वाचनमा खटिएका छन् । पोखरामा अवस्थित अधिकाशं सरकारी कार्यालय पनि सुनसान छन् । कतिपयलाई घर जानको लागि राजनीति दलले सवारीको व्यवस्था गरेका छन् भने कतिपय मतदाता आफ्नै तरिकाले घर फर्किएका छन् ।
