प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शनिवार ल्याएको बजेटले जनताको भावना नसमेटिएको बताएको छ । बजेट योजना र कार्यक्रम जनमत प्रभावित गर्ने दुराशययुक्त रहेको कांग्रेसको बुझाई छ । कोभिड महामारीले अर्थतन्त्र र जनजीविका नराम्रोसंग प्रभावित भएको समयमा सरकारले भने निर्वाचन केन्द्रित भएर जनमत प्रभावित गर्ने दुरासयका साथ योजना र कार्यक्रम बजेट वक्तव्यमा समावेश गरेको कांग्रेसले बताएको छ ।
सिंहदरबारस्थित संसदीय दलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका छाया अर्थमन्त्री समेत रहेका नेता डाक्टर मिनेन्द्रप्रसाद रिजालले २०७÷७९ को बजेट वक्तव्यमा भ्रमको खेति गरि जनमत प्रभावित गर्ने सरकारी दुराशययुक्त रहेको बताए । ‘योजना कार्यान्वयन गर्ने क्षमता छैन तर, आकाशको जुन तारा नै खसाल्छु भन्ने भ्रमको खेती गर्न अघिल्लो निर्वाचनमा झै गरी जनमत प्रभावित गर्ने सरकारी दुराशय बजेट वक्तव्यमा प्रष्ट छ’ उनले भने ।
उनले आगामी आर्थिक वर्ष र चालू आर्थिक वर्षका लागि संशोधन गरिएको राजश्व संकलन गर्ने योजना विफल हुने ठोकुवा गरे । उनले सरकारले नागरिकको थाप्लोमा ऋणको बोझ बढाएर अनुत्तरदायी व्यवहार र आचरणको पराकाष्ट नाघेको टिप्पणी गरे । कोरोनाको पहिलो लहरले १२ लाख नेपालीलाई बेरोजगार बनाएको र दोस्रो लहरले थप बेरोजगारी बढाएको, खोपको सुनिश्चितता गर्न नसक्दा अपेक्षा गरिए अनुसार राजश्व संकलन, पुँजीगत खर्च लगायतका बजेटमा गरिएको आम्दानीका अन्य लक्ष्यहरु पुरा हुन नसक्ने ठहर कांग्रेसले गरेको छ । त्यसैगरी अर्थतन्त्र सिमान्त मात्रै विस्तार हुने भन्दै सरकारले आकलन गरेको साढे ६ प्रतिशत पुग्न नसक्ने दाबी पनि कांग्रेसको छ ।
कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदममाथि परेको मुद्दा सर्वोच्चमा परीक्षण भइरहेको अवस्थामा सरकारले संसद् छलेर बजेट ल्याउन नसक्ने दाबी पनि गरेको छ । प्रतिनिधिसभा विघटनको कदमको वैधानिकता सर्वोच्च अदालतमा परीक्षण भइरहेको छ । संसद्लाई छलेर राजश्व र व्ययको विनियोजन गर्ने, राष्ट्रिय ऋण उठाउन प्रस्तुत गरिएको यो बजेटले सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य जनताको प्रतिनिधिको स्वीकृति वेगर गर्न पाईदैन भन्ने स्थापित लोकतान्त्रिक मुल्य र मान्यता विपरीत छ ।
उनले बजेट वक्तव्यमा लेखिएका नारा, खोप, औषधि र उपकरण अनि अस्पताल होइन अघिल्लो वर्ष भन्दा ३ गुना लामो वक्तव्यमा सरकारले आफ्ना योजनाहरु आकाशको जुन तारा नै खसाल्छु भने झै गरी अघि सारेको टिप्पणी गरे । सरकारको बजेटले कोभिड महामारीबाट नराम्रोसंग जनजीविका प्रभावित भएकामा कसैमा पनि आशा जागृत गराउन नसकेको टिप्पणी गरे ।
