दुःखमा सारथी बन्दै ‘अटो’

Share this post :

Facebook
Twitter
WhatsApp

पुतलीबजार नगरपालिका–१४ की सुनिता परियार एक्कासी विरामी परिन् । व्लड पेसर उच्च भएपछि उनलाई रिंगटा लाग्ने र लड्ने समस्याले सतायो । उपचार गर्न जानुपर्ने पुतलीबजार–३ कुमालगाउँस्थित जिल्ला अस्पताल । घरबाट अस्पताल पुग्न नगर बस चल्दैनन् । ट्याक्सी बोलाएर जान पनि तत्काल नमिल्ने । सतौकोट गएर फर्किदै गरेको ‘अटो’ उनको साहारा बन्यो ।
उनी अटो चढेर उपचारको लागि जिल्ला अस्पताल पुगिन् । उनको साथमा १४ वर्षको छोरा र छिमेकी थिए । परियार भन्छिन, ‘विरामी हुदाँ अस्पतालसम्म पुग्न पनि समस्या थियो । त्यही बेला अटो पायौ र अस्पताल पुग्यौ ।’ दुःखको बेला पाएको अटो नै उनको सारथी बन्यो । ‘समयमै अस्पताल नपुगेको भए जे पनि हुन सक्थ्यो रे’ उनले भनिन, ‘समयमै अस्पताल पुग्नाले छोराछोरी टुहुरा भएनन् ।’ उनले दुःखका कहानी सुनाइन् । घटना दुई महिना अघिको थियो ।
यस्तै, पुतलीबजार–१ की सिर्जना क्षेत्री पनि अटो रिक्सा अप्ठ्यारोमा सारथी बन्ने बताउँछिन् । ‘वैंक, सहकारी जान होस या अस्पताल । छोराछोरीको स्कुल जान पनि सजिलो’ उनी भन्छिन, ‘बजारदेखी गाउँसम्म पुग्न पनि सजिलो हुने । ट्याक्सी खोज्नुनपर्ने । घण्टौ गाडी कुर्न नपर्ने ।’ उनले अटोका कारण आँटेको समयभित्रै गन्तव्यमा पुग्न सकिने बताइन् । स्याङ्जा जिल्ला सदरमुकाम पुतलीबजार, व्यापारीक प्रमुख केन्द्र वालिङ र गल्याङ साथै भीरकोट, चापाकोट लगायतका बजारमा अटो संचालन गरिदै आएको छ । अटो अति सजिलो सवारी साधनको रुपमा प्रयोग भएको स्थानीय बताउँछन् । २०७५ सालमा पहिलोपटक पुतलीबजार नगरपालिकाले अटो रिक्साको अवधारण ल्याएको थियो । नगरका जनतालाई आवतजावत गर्न सहज बनाउन नगरपालिकाले अटो संचालन गरेको हो । नगरपालिकाकै अनुमति लिएर अटो संचालन गर्न थालेपछि नगरबासीलाई यात्रामा सहज पुग्यो । जसले वालिङ बजारमा अटोको आकर्षण थप्यो । त्यसपछि क्रमश अन्य क्षेत्रमा पनि अटो संचालन बढ्दै गए । अहिले शहरी क्षेत्रमा मात्र नभई स्याङजाका ग्रामीण भेगमा पनि सहजै अटो पाइन्छ ।
अटो चलाउनेमा वैदेशिक रोजगारमा गएर फर्किएका युवा बढी छन् । वालिङ नगरपालिका–८ का थमनारायण कोइरालाले अटो रिक्सामा युवा पुस्ता आकर्षित बनेको बताउँछन् । ‘अटोले सानो परिवार सुखले चलाउन सकिने रहेछ’ उनले भने, ‘वेरोजगारी बस्नु भन्दा ४÷५ लाख लगानी गरेर किस्तामा अटो किन्यो चलायो ।’ उनले वेरोजगारी युवाको हकमा अटो सारथी बनेको बताए । अटो संचालनबाट जिविकोपार्जनमा सहज पुगेको बताउँछन् अटो चालक शिव परियार । अटो मान्छे आवतजावतमा मात्र होइन, सामान ओसारपसारमा पनि सहज पुगेको छ । तराई क्षेत्रमा संचालन गरिने अटो पहिलो पटक पहाडी जिल्लामा संचालन गर्दा चल्दैन कि ? पल्टिन्छ की जस्ता समस्या पनि बढी रहेको चालक परियार बताउँछन् । ‘सुरु–सुरुमा अटो रहर र अविश्वास दुवै रहयो’ उनले भने, ‘पछिल्लोसमय अटोले पु¥याउने सहयोगले सवैको मन जितेको छ ।’ सुरुका दिनमा राजमार्गमा अटो समेत संचालन गर्न रोक लगाइएको थियो ।
अटो व्यवसायीको समिति गठन गरि आन्दोलन गरेपछि राजमार्गमा नै अटो संचालन गर्ने अनुमति दिइयो । जिल्ला ट्राफिक प्रहरी प्रमुख मीनबहादुर कुँवरका अनुसार अटो संचालनका लागि सम्बन्धित पालिकाबाट नै अनुमति दिइएको छ । ‘पहिलोपटक पुतलीबजार नगरपालिकाले नियम राखेपछि क्रमश अन्य पालिकामा पनि निमय बनाइयो’ उनले भने, ‘रुट परमिट पनि पालिकाबाटै दिइएको छ । पहिले कसैको लाइसेन्स थिएन । एकैपटक कारबाही गर्दा समस्या हुन्छ भनेर क्रमश कारबाही गर्दै सम्झाउदै लाइसेन्स लिन लगायौ ।’ अहिले स्याङजाका अटो नियममै संचालित छन् । अटो नहुदाँ यहाँका जनता ट्याक्सी झिकाएर या स्याङ्जा पोखरा गर्ने ठूला बस कुरेर यात्रा गर्नुपर्ने बाध्यता थियो । ‘भाडादर पनि तोकिएको छ’ कुँवर बताउँछन्, ‘किलोमिटर भन्दा पनि ठाउँ विशेषः भाडा तोकिएको छ ।’
अटो सामान्यरुपमा दुर्घटना भए पनि ठूलो या मानविय क्षति हुने गरि दुर्घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोलाई पनि बीमा अनिवार्य गरिएको छ । स्याङ्जा जिल्लाभर २७० अटो संचालित छन् । जिल्ला सदरमुकाम पुतलीबजारमा मात्रै ७२ र वालिङमा १५० वटा अटो गुड्छन् । अटो ग्यारेज जिल्लाभर दुईवटा संचालनमा छन् । वालिङमा गुणस्तरीय सेवा दिइएको भए पनि सदरमुकामको ग्यारेज त्यति राम्रो संचालनमा नरहेको अटो व्यवसायी बताउँछन् । कोभिडका कारण तीन वर्षसम्म नवीकरण नगरिएका अटोलाई यसवर्ष नवीकरणको दायरामा ल्याइएको प्रहरीको भनाई छ । प्रतिअटोले वार्षिक रुपमा सम्बन्धित पालिकालाई ६ हजार कर बुझाउँछन् ।
स्याङ्जा टेम्पु यातायात प्रालिका अध्यक्षसमेत रहेका चालक अर्जुन गोदारले अटोको संख्या दिनदिनै थपिदै गएको बताए । उनले दर्ता गरेर भन्दा पनि विनादतै संचालन गरिएका अटो बढी रहेको बताएका छन् । उनका अनुसार अटो प्रालिमा पुतलीबजारभित्र जम्मा ४५ वटा दर्ता छन् । ‘अटो चालकको लाइसेन्समा पनि समस्या छ’ उनले थपे । सुरुका दिनमा जस्तो आम्दानी नहुने बताउने गोदार नेपाल आर्मीबाट रिटार्यड हुन् । दुईवर्ष वैदेशिक यात्रामा गएका उनी राम्रो कमाई नभएपछि घर फर्किएर अटो संचालन गरेका थिए । अहिले उनले खर्च कटाएर दिनमा १ हजार रुपैया“ बचत गर्न सकिने बताएका छन् । अटो पेट्रोलबाट संचालित हुने भएकाले इन्धनको मूल्य बृद्धि भएपछि अटो व्यवसायी पनि समस्यामा परेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *