कास्कीको अन्नपुर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित विभिन्न १० घुम्तीमा कन्भेक्स मिरर जडान गरिएको छ । पर्यटकीय स्थल घान्दु्रक जाने उक्त सडकमा लामा फाउण्डेशन घान्द्रुकले १ लाख मूलयको मिरर जडान गरेको हो ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित कन्भेक्स मिरर राखेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । उनका अनुसार अन्नपूर्ण–८ को बिरेठाँटी, लामखेत, सार्दीखोला, सिर्दीडाँडा, भिचुकचोकमा २ वटा, छैछरीचोकको स्कुलघुम्ती, सिँवै र हुँदुँ लगायतका घुम्तीमा कन्भेक्स मिरर (ऐना) जडान गरिएको हो ।
घान्द्रुकमा दिनहुँ पर्यटकको आवागमन वृद्धि भएको बताउँदै यात्रालाई सुरक्षित गराउने उद्देश्य सहित ऐना जडान गरिएकोे उनले बताए । ‘अहिले सडक पिच भएको छ गाडीको गति बढी हुने र दुर्घटना हुने सम्भावना बढी भएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यसहितज डान गरेको हो, उनले भने, ‘यो अभियानमा देश तथा विदेशमा रहनुभएका आफन्तजन साथीभाईको आर्थिक सहयोग गर्नुभएको छ ।’
कन्भेक्स मिररले विपरित दिशाको बाटोको अवस्थालाई देख्न सघाउ पुर्याउछ । कन्भेक्स मिरर जडान गरेपछि चालक पनि हर्षिद छन् । स्थानीय चालक विजय हमालले जोखिमयुक्त सडकको घुम्तीमा ऐना जडान गरेपछि दुर्घटना न्यूनीकरण हुने बताए ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहदैं आएको फाउण्डेशनले यस अघि घान्द्रुकस्थित कलाभीरमा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यसहित १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो ।
