अधिकाशं प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भइसक्दा गण्डकीमा भने बजेटमाथिको छलफल बल्ल सुरु भएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले असार १ मा प्रदेश सभा वैठकमा ३५ अर्वको बजेट प्रस्तुत गरेका थिए ।
सो बजेटमाथि सत्तारुढ गठबन्धनकै मन्त्री तथा सांसदले असन्तुष्टि व्यक्त गरेपछि छलफल हुन सकेको थिएन् । लगातार तीन वर्षसम्म समेटिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेट वक्तव्यमा समेटिएन । जसका कारण सांसदले पाउँदै आएको ७२ करोड रुपैयाँ नपाउने भएपछि सत्तारुढ दलकै मन्त्री र सांसदहरु असन्तुष्ट थिए । प्रस्तुत भएको बजेटमाथि विवाद उत्पन्न भएपछि सरकारले २० दिनसम्म संसद चलाउन सकेन् । विवाद चुलिदै गठबन्धनका शिर्ष नेतासम्म पुगेपछि गठबन्धनलाई मिलेर जान दवाव परेको थियो । जसका कारण निर्वाचन क्ष्ँेत्र पूर्वाधार विकास कार्यक्रमलाई शिर्षक फेरेर समेट्ने र मन्त्रीका छुटेका अन्य योजना पनि बजेटमा समावेश गर्ने भएपछि असार २० देखी बजेटमाथि छलफल शुरु गरिएको थियो ।
गठबन्धन दलबीच सहमति भएपछि मन्त्री तथा गठबन्धनकै सांसद निकटका योजनाहरु समेटिएका छन् । पूर्वाधार निर्माण, खानेपानी, सिँचाई, पार्क, पदमार्ग, सडक मर्मत तथा स्तरोन्नति, विभिन्न ट्रष्टहरुका पूर्वाधार निर्माण तथा मर्मत, कोषको स्थापना, तालिम, खेलमैदान लगायतका ९८ वटा योजनाका लागि थप स्रोतको सुनिश्चितता गरिएको छ । जसमा शिक्षा, सँस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बाबुआमाको नाममा खोलिएको पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी कोषको लागि आफ्नै मन्त्रालयबाट कार्यान्वयन हुने गरि ५० लाख रुपैयाँ छुट्याएका छन् । यस्तै, सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरि थप ५० लाख रुपैया विनियोजन गरेका छन् । यसैगरी, का“ग्रेस नेता अर्जुृन जोशीको कुश्मा नगरपालिका–८ मा पिताको नाममा खोलेको अमृत जोशी स्मृति पार्कका लागि २० लाख रुपैयाँको योजना समेटिएको छ ।
कुश्मा नगरपालिकाकै पूर्व उपमेयर सीता काफ्ले लामिछानेको श्रीमान स्व.डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख रुपैया“ समेटिएको छ । यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको व्यास नगरपालिका–१० मा स्वं पिता गोवद्र्धनको नाममा स्थापित गोवद्र्धन शर्मा स्मृति कोषको लागि ५० लाख रुपैया“ रातो कितावमै समेटेका थिए । ट्रष्टको नाममा राखिएको बजेट व्यक्तिगत नहुने प्रतिक्रिया शिक्षामन्त्री श्रेष्ठले दिदै आएका छन् । यता, अर्जुन जोशीले सामाजिक संजाल फेसबुकमा पार्कमा भीड बढ्दै गएपछि व्यवस्थापन गर्न समस्या भएकाले सरकारले सहयोग गरेको जनाएका छन् । उनले माग अनुसार नै प्रदेश सरकारले बजेट छुट्याएको बताए । यस पार्कमा विगतका वर्षमा पनि संघ र स्थानीय सरकारबाट सहयोग प्राप्त भएको उनले बताए । थप गरिएका योजना २८ करोड २७ लाखका रहेका छन् । जसमा भौतिक मन्त्री कुमार खड्काले आफ्नो वडा पोखरा–१६ मा मात्रै ६ करोड ८ लाखका योजना पारेका छन् । कुमार खड्काको वडामा वढी योजना परेको भन्दै यतिबेला प्रमुख प्रतिपक्ष दल एमालेले विरोध जनाएको छ ।
सत्तारुढ दलबीच विवाद चुलिदै गएपछि २० दिनसम्म संसद बन्धक पार्ने, पुनः आफ्नो स्वार्थमा योजना पार्दै संसद खुलाउने, मनपर्दो तरिकाले बजेट राख्ने, भौतिक मन्त्रीकै वडामा पालिकामा भन्दा बढी योजना पार्ने जस्ता विषयमा एमालेले संसद अवरोध गरेको छ । शुक्रबारको वैठकमा १५ मिनेको लागि स्थगित गरिएको भए पनि सहमति नजुट्दा आइतबारसम्मलाई स्थगित गरिएको छ । एमालेले बजेटलाई लिएर कानुनी प्रश्न उठाएको छ । यसमा अर्थमन्त्रीको जवाफ नआउदासम्म संसद चल्न नदिने चेतावनी एमालेको छ । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रतिपक्ष दललाई कमजोर मान्दै मनमानी तरिकाले काम गरेको बताए । उनले आफूहरुलाई बजेट नपर्दा झगडा गर्दै संसद बन्धक बनाउने र बजेट पाएपछि संसद चलाउने बाहेक सरकारले नया“ काम गर्न नसकेको बताएका थिए ।
