गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सभाको विहीवार बसेको वैठकले आर्थिक वर्ष २०७९–८० को बजेट पारित गरेको हो । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बैठकमा बजेट पारित गर्न निर्णयार्थ प्रस्तुत गरेका थिए ।
प्रस्तावलाई सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले समर्थन जनाएपछि बजेट बहुमतले पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । यसअघि नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले फेल भएको थियो । उनले राखेको प्रस्तावको विपक्षमा बहुमत पुगेकाले सभामुख नेत्रनाथ अधिकारीले खर्च कटौतीको प्रस्ताव फेल भएको घोषणा गरेका थिए ।
वित्त आयोगले १२ प्रतिशत भन्दा बढी ऋण नलिन दिएको निर्देशन पालना नगरेको, मुख्यमन्त्री र मन्त्रीहरुको मातापिताको नाममा छुट्याइएको बजेटलगायतका कारण बजेट धेरै भएको भन्दै एमाले प्रमुख सचेतक अधिकारीले खर्च कटौति गर्न प्रस्ताव गरेका थिए । प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा एमाले सांसदहरुले समर्थन जनाए पनि बहुमत नपुगेपछि प्रस्ताव फेल भएको थियो । बजेट पारित अघि अर्थमन्त्री बरालले बजेटका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिएका थिए । आगामी वर्षको लागि अर्थमन्त्री बरालले असार १ को प्रदेश सभा वैठकमा ३५ अर्व ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि असार २० देखी छलफल सुरु गरिएको थियो ।
बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट आवश्यकताको सिद्धान्तका आधारमा बनाइएको जिकीर गरे । यसअघि विभागीय मन्त्रीहरुले सम्बन्धित मन्त्रालयबारे उठेका प्रश्नहरुको जवाफ दिएका थिए । संसदमा बोल्दै अर्थमन्त्री रामजीप्रसाद बरालले वैज्ञानिक ढंगबाट बजेटको बाँडफाँट गर्ने प्रयास गरिएको बताए । उनले गठबन्धन सरकार भएकाले सोंचेजस्तो बजेट ल्याउन नसकिएको स्वीकारे ।
