पूर्वमेयर भुपराज अधिकारीलाई गर्यो पार्टीले कारबाही

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी पार्टीको कारबाहीमा परेका छन् । पार्टीको अन्तरसंघर्षमा सक्रिय नेकपा एमाले स्याङ्जाका नेतासमेत रहेका अधिकारीलाई जिल्ला पार्टी कार्यालय स्याङ्जाले शनिवार कारबाही गर्ने निर्णय गरेको हो ।
पार्टीभित्रका बेथिति र विसंगतिका विरुद्व सक्रिय अधिकारी पार्टीभित्र निति र विधि बसाल्न सक्रिय नेताको रुपमा चिनिन्थे । उनलाई गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुइ पटक संसद विघटन गर्दा त्यसको विपक्षमा उभिएका अधिकारी पार्टी विभाजन पछि पनि अन्तरसंघर्ष कायमै राख्दै एमालेमा रहेका थिए । संविधान र विधि विपरित कोही पनि जान नहुने मान्यता राख्ने अधिकारी पार्टी विभाजन गर्नु उचित नहुने भन्दै एमालेमा नै रहे ।
पार्टी विभाजनले कसैलाई फाइदा नहुने बरु पार्टीभित्रै बसेर खराब कुराहरुको भण्डाफोर गर्दै विधिमा पार्टीलाई लैजानुपर्ने बताउँदै आएका अधिकारी कारवाहीमा परेपछि स्याङ्जा एमालेका इमान्दार कार्यकर्ताहरु आक्रोशित बनेका छन् । अधिकारीलाई पदिय जिम्मेवारीबाट ६ महिनाका लागि निलम्वन गरिएको जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस)ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । गत निर्वाचनमा पार्टीबाट गैह्रेलाई नै गल्याङ नगरपालिकाको नगरप्रमुखमा उम्मेद्वार बनाउने निर्णय भएपछि पनि अधिकारीले सार्वजनिक कार्यक्रमहरुमा सातै सुर्य चिन्हमा भोट हाल्न पार्टी पङ्तीलाई आग्रह गरेका थिए । तर गैह्रे निर्वाचनमा पराजित भएपछि अधिकारीबाट अन्तरघात भएको आरोप लगाइएको हो ।
पार्टीमा अन्तरसंघर्ष भई विभाजनको संघारमा हुँदा एमालेकै केही नेताहरुले अधिकारी समाजवादीमा जाने अड्कल काटेका थिए । समाजवादीमा गएको भए पुनः नगरप्रमुखमा विजयी हुने सुनिश्चित हुने भए पनि अधिकारीले पार्टी विभाजन गर्न नहुने भन्दै एमालेमा बसिरहे । गठबन्धनमा रहेका दलहरुले जहाँ जसले जितेको छ, त्यहाँ अर्को पार्टीले उम्मेद्वार नदिने गठबन्धन दलहरुबीच सहमति भएको थियो । जस अनुसार गल्याङ नगरपालिकामा समाजवादीबाट भुपराज अधिकारी उम्मेद्वार भएको भए नेपाली काङ्ग्रेस तथा माओवादी केन्द्रको उम्मेद्वार नै नभई उनले सजिलै जित्ने आधार बन्ने विश्लेषकहरु बताउँछन् । तर, एमाले जोगाउन भन्दै एमालेमा नै रहेका र खराब प्रवृत्तिको विरोध जारी राखेका अधिकारी अहिले भने कारवाहीमा परेका छन् ।
अधिकारी कारवाहीमा परेपछि सामाजिक सञ्जालहरुमा स्याङ्जामा एमालेलाई थप संकट पर्ने भन्दै धेरै एमाले कार्यकर्ताहरुले नै चिन्ता व्यक्त गरेका छन् । कारवाहीमा परेका अधिकारीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । ‘अहिले म यस विषयमा केही भन्न चाहान्न’ उनले भने । कृषि, खानेपानी, स्वास्थ्य पूर्वाधार लगायतका क्षेत्रमा अधिकारीले गल्याङ नगरप्रमुख हुँदा गरेको कार्यले उनी गल्याङवासीबाट रुचाइएका नेतामा पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *