नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेले गठबन्धन गर्नुअघि घोषणपत्र सार्वजानिक गर्नुपर्ने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारसँग भेट्दै उनले नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गर्दै घोषणपत्र सार्वजानिक गरेपछि मात्र जनताले मताधिकारको सदुपयोग गर्न पाउने बताए । ‘घोषणपत्रमा के छ जनता स्वंम पढ्छन्’ उनले भने, ‘जनतालाई लक्षित कार्यक्रम ल्याइएको रहेछ भने सोही अनुसार मतदान गर्छन् । उनीहरुको मत नेताको लागि निर्देशन हो ।’
उनले नेपालको परिवेशमा घोषणपत्र एउटा र काम अर्को हुने गरेको बताए । जहिलै चुनावमा जनता झुक्याउने काम भएको बताउदै उनले भने, ‘नेताले भोटको लागि घोषणपत्रमा राम्रा कार्यक्रम राख्छन् । सरकारमा गएपछि जनतालाई गरेका बाचा पुरा गर्दैनन् । यसकारण पनि घोषणपत्र पहिलै सार्वजानिक हुनुपर्छ । पछि जनताले किन यो काम भएन भनेर प्रश्न गर्न सकुन् ।’ घोषणपत्रको आधारमा चुनाव लड्नुपर्ने उनको तर्क थियो । घोषणपत्रमा भ्रष्टाचारको विषय नलेख्ने तर, नेताले बढी भ्रष्टाचार गर्ने बताउदै उनले सुशासनका नारा झुटा हुन थालेको बताए । उनले सत्ता संचालनको विषय दिल्लीमा नभई जनताको माझमा छलफल गर्नुपर्ने बताएका थिए । उनले एमसीसीको विषयमा पनि विरोध गरेका छन् । अमेरिकाले तेस्रो विश्व युद्ध चाहेको बताउदै नेपाललाई युक्रेन र श्रीलंका बनाउन खोजेको उनको भनाई छ । अमेरिकाले कुनै पनि देशको आर्थिक, राजनीतिक दृष्टिकोणबाट अघि बढाउन नचाहेको बताउदै उनले इण्डियाको व्यापारयुद्धले नेपाललाई मारमा पारेको बताए ।
