गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखराको जनप्रिय बहुमुखी क्याम्पसलाई स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन सुझाएका छन् । नवनियुक्त क्याम्पस प्रमुख लोकराज भण्डारीलाई विहीवार एक समारोहकाबीच पदस्थापन गराउदै मन्त्री बरालले सो कुरा बताए ।
विभिन्न क्याम्पसमध्ये सामुदायिक क्याम्पस जनप्रियलाई जनताको सर्वसुलभ गुणस्तरिय शिक्षाको केन्द्रको रुपमा नमुना क्याम्पस बनाउन सबै लाग्नुपर्ने उनको भनाई छ । मावि तहको शिक्षाको स्वामित्व पनि प्रदेश सरकारलाई दिनुपर्ने तर्क उनले राखेका छन् । क्याम्पसको भौतिक पूर्वाधार निर्माण एवं गुणस्तरिय शिक्षामा सुधारको लागि पहल गर्ने मन्त्री बरालले बताए ।
क्याम्पस प्रमुख भण्डारीले क्याम्पसको शैक्षिक गुणस्तरियताको लागि सबैसंग समन्वय गरी अघि बढ्ने बताए । नयाँ ढंगले अघि बढ्ने बताउँदै भण्डारीले विभिन्न योजना कार्यान्वयन गर्ने क्रममा भोको पेट नहुने गरी व्यबस्थापन गर्ने विश्वास दिलाए । क्याम्पसमा ५ हजार ५ सय बिद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा २०७४ सालदेखि पर्वतीय पर्यटन बिषयमा समेत पठनपाठन हुदै आएको छ ।
