२१ वर्षिय युवा जसले एटीएम फोरे

Share this post :

Facebook
Twitter
WhatsApp

अनिश तामाङ उमेरले २१ वर्ष पुगे । तर, उनी कक्षा नौ मा अध्ययनरत विद्यार्थी हुन् । आइटीमा राम्रै ज्ञान भएको व्यक्तिभित्र पर्छन् भन्दा या सुन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । प्रहरीको अनुसन्धानले उनलाई आइटीमा दख्खल राख्ने व्यक्तिको रुपमा परिचित गराएको छ । कास्की प्रहरी प्रमुख अजय केसीका अनुसार तामाङ आइटीमा रुची राख्ने व्यक्ति हुन् ।
‘उमेर बढी भए पनि अहिले उनी नौ कक्षामा पढ्दै छन्’ उनले भने, ‘आइटी सम्बन्धि ज्ञान रहेछ । गुगल र युट्युवले पनि धेरै कुरा सिकाएको छ ।’ तामाङ चोरीका अभियुक्त हुन् । प्रहरीले एटीएम मेसिन फुटालेर रकम चोरेको आरोपमा पक्राउ गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालयमा संचारकर्मीसँग भेटघाट गर्दै अभियुक्त तामाङलाई सार्वजानिक गरिएको छ । गत साउन ३ गते राती २ बजेको कुरा हो, कास्की प्रहरीलाई पोखरा महानगर–२७ तालचोकमा रहेको एनआईसी एशिया वैंकको मेसिन फोर्ने प्रयास भएको भन्ने सूचना वैंकको प्रधान कार्यालयबाट प्राप्त भयो । प्रहरी तत्काल एटीएम मेसिन भएको ठाउँ पुगे । तर, त्यहाँ कोही, केही भेटाएनन् ।
प्रहरीले मेसिन फोर्ने प्रयास भएको पत्ता लगायो । सिसि क्यामेराबाट हुलियाको आधारमा संकित व्यक्तिको खोजतलास भयो । राती ३ बजेर १५ मिनेट जादाँ ग १० प २९६३ नम्बरको बुलेट मोटरसाइकल र हेल्मेट कोलेफा“टमा भेटियो । त्यस्तै, विहान ६ बजे एनएमबी बैंक केन्द्रीय कार्यालयले पोखरा–३० अर्घौचोकमा रहेको एटीएम बुथमा रहेको मेसिन फोरी चोरी भएको सूचना प्राप्त भयो । प्रहरी त्यहाँ पुग्दा मेसिन फोरिएको र दुई वटा क्यासकेटसहित नगद चोरी भएको देखियो । खोजतलास गर्ने क्रममा दुई वटा क्यासकेट फोरिएको अवस्थामा विचारी चौतारमा फेला पर्यो । प्रहरीले दुवै घटनास्थल फिङगर प्रिन्ट र सीसीटीभी फुटेज संकलन गरि मुचुल्का उठायो । दुवै एटीएम बुथमा एउटै हुलिया भएको व्यक्ति हो भन्ने पत्ता लाग्यो । एसपी केसीले भने, ‘त्यसपछि हामी गम्भिर भयौ । प्रदेश प्रहरी, केन्द्रीय कार्यालयमा खवर गरी अनुसन्धान टोली गठन गरि थप अनुसन्धान अघि बढायौ ।’
बुलेट मोटरसाइकल चोरीको लागि प्रयोग भएको खुल्न आएपछि मोटरसाइकल धनी खोजतलास गर्दा तालचोकका विजय गौतम रहेको र उनलाई सोधपुछ गर्दा सोही दिन राती मोटरसाइकल चोरी भएको बताए । एटीएम मेसिन भेन्डरको प्रतिवेदनमा एनएमबी बैंकको एटीएम मेसिनको चावी पूर्णरुपमा बन्द नगरेको देखिएको प्रहरीले जनायो । ‘बीमा गरेको हुन्छ सुरक्षाको विषयमा वैंक सिरियस देखिदैनन्’ एसपी केसीले भने, ‘प्रहरी प्रधान कार्यालयबाट सुरक्षाको लागि देशभरी परिपत्र गरिएको छ ।’ पक्राउ परेका पोखरा–३० डुँडाको मुख बस्ने तामाङको साथबाट दुई वटा मोवाइल १९ हजार नगद र कपडा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाइक पनि खरिद गरेको रहेछ । प्रहरीले नेपाल भारत सिमाना नजिक रुपन्देहीको बेलहियाबाट भर्दौ २ गते पक्राउ गरेको हो । इण्डीया भाग्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपुरको देवचुली नपा घर भएका तामाङले शिसुवास्थित माझापसल ट्रेडर्स (हार्डवयर पसल) मा काम गर्दै आएका थिए । सोही ठाउँको लक्ष्मी आर्दश माविमा अध्ययन गर्ने तामाङ पहिलोपटकमा एटीएम मेसिन फुटाल्दा १४ लाख ७१ हजार ५ सय रुपैयाँ निकाल्न सफल भए । तर, उनको दोस्रो प्रयास भने असफल भयो । आरोपित भन्छन, ‘मेसिनभित्र पसेपछि प्रयास गरेको सजिलै निकाल्न सके । तर, अर्को एटीएममा दुवै चावी लगाइएको रहेछ, निस्किएन ।’ अर्घौचोकबाट एनएमबीको पैसा राख्ने कालो एउटा बक्स, शिसुवाबाट चोरी गर्न जानुपूर्व लगाएको सिल्भर रंगको एउटा हेल्मेट, कोलफाँटबाट मोसा र मेसिनभित्र जादा“ लगाएको एउटा हेल्मेट, डोडामुखबाट एउटा कालो सर्ट, सेतो लेश भएको एक जोर कन्भर्स जुत्ता र कालो ट्रयाक प्रहरीले भेटाएको छ ।
तामाङलाई चोरी तथा डाँका सम्बन्धि कसूरमा आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरि ७ दिनको म्याद गरिएको छ । चोरिएको रकम कहाँ लग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताए । ‘संलग्न को थिए ? पत्ता लगाउदै छौ’ उनले भने । आरोपीतले सोही रात घरमा र बाहिर दुई पटकसम्म खाना खाएको हुदाँ प्रहरीले घरपरिवारका सदस्यलाई पनि संकाको घेरामा लिएको छ । ‘तामाङ ठूलो चोर त होइन तर, राम्रो लगाउ र मिठो खाँउ भन्ने सोखिन रहेछ’ एसपीले पुनः थपे, ‘खत्रयाङखुत्रुङ किनेको देख्दा रुची अनुसार अपुग भएर चोरी गरेको हो की ?’ प्रहरीले अन्य सतकर्ता अपनाउन सवै वैंक तथा वित्तिय संस्थाका प्रदेश र शाखा प्रमुखलाई बोलाएर सुरक्षा सावधानीको लागि निर्देशन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *