गत पुषको ५ गतेको घटना हो, ६ वर्षिय बालक । राती सुत्ने बेला विस्तारामा पिसाव गर्छ भनेर होस्टेल वार्डेन जानुका नेपालीले लिङ्गमा रवर बाँधिदिइन् । पोखरा महानगर–१५ मा रहेको न्यू लाईफ स्कूलमा अध्ययनरत ती बालकलाई यातना दिएको आरोपमा प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई पोखरा–१४ बस्ने नेपालीलाई नियन्त्रणमा लियो ।
पुष ६ मा पक्राउ परेकी उनलाई प्रहरीले वालवालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जिल्ला अदालत कास्कीमा पुष ३० मा मुद्दा दर्ता गर्यो । जिल्ला अदालतले गत माघ २ मा २५ दिन कैद र ६ हजार जरिवाना तोकेको थियो । कैद सजाय भुक्तान गरि उनी कारागारबाट बाहिरिसकेकी छन् । यस्तै, बैंकिङ कसूरको आरोपमा कास्की प्रहरीले बाग्लुङको ताराखोला गाउँपालिका–१ घर भई हाल पोखरा–२ मिरुवा बस्ने २७ वर्षिया दीक्षा पुनलाई साउन २१ मा पक्राउ गर्यो ।
नियालोको झाडीमा लुकेर बसेकी पुनलाई पक्राउ गरि प्रहरीले उच्च अदातल पोखरामा बैंकिङ कुरुमा मुद्दा चलायो । युके पठाइदिने भन्दै दीक्षाले विभिन्न व्यक्तिलाई ठगी गरेको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर केसीले सामाजिक सञ्जालमार्फत खुलमखुला ठगी गर्ने गरेको बताए । उनले आपराधिक गतिविधिमा पछिल्लोसमय महिला संलग्नता बढी रहेको बताए । ‘अहिले जस्ता प्रकृतिका घटना हेरे पनि महिलाकै उपस्थिति बढी छ’ उनले भने । यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–१० खैरेनीटार घर भई हाल पोखरा–११ फूलबारी बस्ने वर्ष ३० की श्रीमाया विक भण्डारी लागूऔषध कारोबारको आरोपमा पक्राउ परिन् । प्रहरीले उनको साथबाट लागूऔषध डाईजापाम–६२ एम्पुल, फेनारगन– ६२ एम्पुल र नर्फिन–६२ एम्पुल गरी १८६ एम्पुल बरामद गरेको थियो ।
प्रहरीले उनलाई जिल्ला अदालत कास्कीमा लागूऔषध सम्बन्धि मुद्दा दर्ता गर्यो । गत पुष ९ मा पोखरा–३२ सातमुहानेस्थित लागूऔषध चरेशको कारोबार तथा विक्री वितरण गर्दै गरेको अवस्थामा रूकुम भूमे गाउ“पालिका–२ घर भई हाल पोखरा–३२ सातमुहाने वस्दै आएकी ५६ वर्षिया कुमारी बुढा मगर पक्राउ परिन् । सोही वडाको खुदिखोला बस्ने १९ वर्षिय विकास थापा पनि उनको साथमा थिए । प्रहरीले बुढामगरको साथबाट लागूऔषध चरेश १ किलो २३० ग्राम बरामद गरेको थियो । यसैगरी गत पुष १६ मा पोखरा–५ जिरोस्थित एक सुन पसलबाट सुनको सिक्री चोरेको आरोपमा पुष २० गते अस्मिता शाक्य पक्राउ परिन् । काठमाडौं महानगर–९ शंखमूल घर भई पोखरा–६ लेकसाईड बस्दै आएकी २१ वर्षिया शाक्यलाई प्रहरीले लेकसाइडकै फिस्टेल गेट नजिकै सुनको सिक्रीसहित पक्राउ गरेको थियो ।
यसैगरी, पोखरा महानगरपालिका अन्तर्गत विभिन्न ठाउँका, अन्दाजी ५ देखी ९ वर्षसम्मका ५ जना वालवालिका । ललाईफकाई, डर त्रास तथा धम्की दिई उनीहरुले कानमा लगाएको सुनको मुन्द्रा चोरी फरार रहेकी स्याङ्जाको चापाकोट नगरपालिका–४ घर भई पोखरा–१४ चाउथे बस्ने २४ वर्षिया अम्बिका पुलामी मगरलाई प्रहरीले पक्राउ गर्यो ।
पीडित वालवालिकाले दिएको हुलियाको आधारमा उनी पक्राउ परेकी थिइन् । प्रहरीले सुनको मुन्द्रा १३ टुक्रा (तत्काल तौल गर्दा ४८ लाल) र सुनको ६ थान मुन्द्रा (तत्काल तौल गर्दा ४५ लाल) सहित पक्राउ गरेको थियो । आपराधमा पनि महिला संलग्नता छ भन्ने यी केही उदाहरण हुन् । गत आर्थिक वर्ष २०७८÷७९ मा कास्कीमा मात्रै महिलाविरुद्ध ८३ वटा मुद्दा दर्ता भए । जसअन्तर्गत ६८ जना प्रतिवादी महिला पक्राउ परेको डीएसपी तिवारी बताउ“छन् । आव २०७७÷७८ मा ५३, आव २०७६÷७७ मा १२२ र आव २०७५÷७६ मा ६२ जना महिला प्रतिवादी भए । केही सार्वजानिक आपराध, झुट्टा विवरण पेश गरी नागरिकता लिएको, कर्तव्य ज्यान, बहु विवाह, मानव वेचविखन, लागूऔषध, अपराध तथा शरीर बन्धक, चोरी, किर्ते, ठगी, सवारी ज्यान, जुवा, कालो बजार, जातिय भेदभाव तथा छुवाछुत र धर्म सम्बन्धि लगायतका शिर्षकमा पक्राउ परेका छन् । जिल्ला कारागार कास्कीका जेलर भीष्मराज कोइरालाले कैदी महिलाको संख्या बढ्दो रहेको बताए । उनले सीट क्षमता २० जनाको भए पनि कारागारमा ४६ जना महिला रहेको बताए ।
उनका अनुसार लेनदेन, बैंकिङ कसुर, मुद्रा, वन जडीबुटी, डाका चोरी लगायतका मुद्दामा रहेका छन् । ‘तत्कालको फाइदाले महिला यस्ता कार्यमा संलग्न हुन थाले’ महिला अधिकारकर्मी रेखा ताम्राकार भन्छिन्, ‘जेलबाट छुटेपछिको जीवन बुझ्दैनन । पुनः संघर्ष गर्नुपर्दाको पीडा थाहा छैन् । क्षणिक लाभले जस्ता गतिविधि पनि गर्न थाले ।’ उनले गरिबीले नै महिलालाई आपराधिक गतिविधिमा जोडेको बताइन् ।
