सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीको लागि सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । प्रतिविद्यार्थीलाई एक सय ८० दिनसम्म १५ रुपैयाँको दरले खाजा खर्च छुट्याएको छ । तर, स्याङ्जाका केही सरकारी विद्यालयले दिवा खाजाको रकम विद्यार्थीलाई नगद नै दिने गरेको बताइएको छ । जिल्ला शिक्षा समन्वय समितिका प्रमुख गुरुप्रसाद पौडेलले अनुगमनको क्रममा नगद नै दिने गरेको पाइएको बताए । ‘दिवा खाजाको रकम थोरै भयो भन्दै खाजा नदिने, १५ रुपैयाँ दिने गरेको पनि भेटियो’ उनले भने ।
उनले सुधारको लागि सम्बन्धित पालिकामा पत्राचार गरेको बताउँदै विद्यालयको नाम भने खुलाएनन् । ‘अव पनि सुधार नभए कारबाहीको प्रकृया अघि बढाउनुपर्छ’ उनले भने, ‘खबरदारी गर्ने र कारबाही गर्ने अधिकार हामीलाई छैन । पालिकामार्फत सुझाउने हो ।’ शिक्षा मन्त्रालयले ६० प्रकारका खाजाको मेन्यु बनाएर पठाएको छ । कतिपय विद्यालयमा जंक फुड नै खुवाउने गरेको शिक्षा कार्यालयले जनाएको छ । आ“धीखोला गाउँपालिकाका प्रमुख विश्व पौडेलले कतिपय विद्यालयमा व्यवस्थापन समिति, अभिभावकले बजेट थपेर नै खाजा खुवाउने गरेको बताए । ‘१५ रुपैयाँको खाजा पनि पुग्दैन’ उनले भने, ‘कतिपय विद्यालयमा व्यवस्थापन कमजोर छ । हामीले वाल विकास केन्द्रलाई नै सुधार गरेर जाने भनेका छौ ।’ गापाबाट दिवा खाजाको लागि बजेट वार्षिक ४५ लाख लाग्ने भएकाले वाल विकास केन्द्रलाई नै लगानी गर्ने उनले बताए । गुणस्तरीय खाजाको लागि सवै विद्यालयका प्रअस“ग वैठक बसेर निर्देशन दिएको बताए ।
जिल्लाभरका अधिकाशं विद्यालयमा मकै, भट्टमास, सुजी, अण्डा लगायतका खानेकुराको व्यवस्था गरिएको छ । चापाकोट नगरपालिका शिक्षा शाखा प्रमुख वन्दना गुरुङले मन्त्रालयले दिएको मेन्यु अनुसार नगरपालिकाले विद्यालयमा निर्देशन दिएको छ । ‘सुरु–सुरुमा जस्तो समस्या अहिले छैन’ उनले भनिन् । दिवा खाजाको लागि जिल्लाका सवै पालिकामा बजेट पठाइन्छ । तर, पालिकाले आफै भने बजेट छुट्याएका छैनन् । विद्यालयले दिवा खाजाको मापदण्ड भने बनाएका छैनन् ।
