नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाइएको छ । १७ वर्षिया एक किशोरीले लामिछानेले बलात्कार गरेको भन्दै मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी छन् ।
क्रिकेटर लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै भदौ ६ गते केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको आरोप किशोरीको छ ।
‘तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।
उनी केन्यासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए । उनले केन्यासँगको एकदिवसीय शृङखला भने खेलेका थिएनन् । इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ग्लोबल स्टार बनेका लामिछाने जनवरीयता नेपाली राष्ट्रिय टोलीका कप्तान छन् । उनी सन् २०१६ देखि नेपाली टोलीबाट लगातार खेल्दै आएका छन् ।
