माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको निर्वाचन प्रणाली नै गलत रहेको बताएका छन् । आज काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
प्रचण्डले भने, ‘युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु नआउँदासम्म देशले गति लिँदैन, सडक तताउने, जनताको टेल, गाउँमा एउटा अभियान चलाउने कार्यक्रम बन्दै छ भन्ने विश्वास छ ।’ संविधानसभाबाट संविधान बनाउँदै गर्दा हाम्रो निर्वाचन प्रक्रियामा देखिएको विकृति र विसंगतीलाई हटाउन एउटा अभियानको रुपमा लिएको बताउदै उनले जनताको बीचमा यि मान्यताहरुलाई स्थापित गर्न विशेष पहल गर्न निर्देशन दिए ।
टोल, गाउँमा पुगेर जनतामा नयाँ चेतनाको विस्तार गरी अर्को आन्दोलनतिर अगाडि बढ्न उत्प्रेरित गर्न उनले अनुरोध गरेका छन् । ‘जतिवेला हामी जनयुद्धको तयारी गर्दा हामी तपाईहरु जस्तै थियौ, अहिले हामीहरुले जनवादी क्रान्तिलाई आफ्नो मौलिकतामा आफ्नै ढंगले पूरा गरेका छौं’ उनले भने, ‘अब हामी समाजवादको क्रान्तिको नयाँ चरणमा प्रवेश गरेका छौं । त्यसको नेतृत्वको जिम्मेवारी तपाईहरुको काँधमा छ । अपिल छ, कम्युनिष्ट आन्दोलनको तपाई उत्तराधिकारी हो, आशा भरोसा तपाईहरुमाथि छ ।’ उनले जनवादी क्रान्तिमा नेतृत्वको भूमिका खेलेको बताउँदै अब के तपाई समाजवादी क्रान्तिको नेतृत्व गर्न तयारी हुनुहुन्छ भनि विद्यार्थीालाई प्रश्न गरे । अब समाजवादी क्रान्तिको तयारीमा समाजवाद निर्माणको महान अभियानमा बिद्यार्थीहरुले आफूलाई तम्तयार पार्न सक्नुपर्ने उनको धारणा थियो । अहिले समाजमा विचार र सिद्धान्तको महत्व चलेको बताउँदै उनले क्रान्ति र निष्ठा स्खलित भएको भन्ने चर्चा चलेको बताए ।
तपाईहरुले विचार सिद्धान्तको महत्वलाई क्रान्तिलाई निरन्तर अगाडि बढाउने कुरा, समाजवाद निर्माणको कुरालाई उच्च प्राथमिकता दिन आफूले अपिल गर्ने दाहालले बताए । उनले विगतमा प्रतिगमनका विरुद्ध संघर्ष गरि पराजित गरेको सम्झंदै अगामी निर्वाचनमा यो देशको राजनीतिलाई देश र जनताको आवश्यकता राष्ट्रिय स्वाधिनतादेखि आर्थिक विकास र समृद्धिको कुरालाई नयाँ उचाईमा पुर्याउन आबस्यक रहेको बताए । त्यो नयाँ उचाईमा जबसम्म माओवादी केन्द्र बलियो भएर आउँदैन, प्रतिगमन र प्रतिक्रान्तिको खतरा जारी रहने उनको धारणा थियो ।
