नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सरकारले म्यादी प्रहरीमा भर्ना आह्रान गरेको छ । निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको हो ।
प्रहरी प्रधान कार्यालयले २०७९ भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन पाउने गरी आइतबार १ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो । म्यादीको कार्यअवधि ४० दिनको हुने छ ।
आवेदन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरसहित देशभरका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन पाइने छ ।
आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ, आतंककारी संगठनको सदस्य नरहेको, आँखाको हेर्ने क्षमता माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको, पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाइ भएका, गर्भवती नभएकारनरहेकाले आवेदन दिन सक्ने न्यूनतम योग्यता निर्धारण गरिएको छ ।
असोज ९ देखि १४ सम्म भर्ना छनोट गरिसक्नु पर्नेछ ।
त्यसबीच दसैं परेकोले म्यादी भर्नाको नतिजा भने असोज २५ मा मात्रै गरिने छ । यसी छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म मा तालीम गराएर कात्तिक ९ बाट चुनावी सुरक्षामा परिचालन गरिने छ ।