चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौ आएका छन् । सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुगेका लीलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा लगायतको टोली विमानस्थलमा पुगेको थियो ।
ली नेपालको चार दिने भ्रमणको लागि आएका हुन् । लीको भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेस बीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदान–प्रदान सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद् सचिवालयले जनाएकोे छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सको भ्रमणका दौरान सोमबार बेलुकी नेपाली पक्षसँग संसदीय सहकार्य र सांसदहरूको भ्रमण आदान–प्रदानको लागि सम्झौता हुन लागेको संसद् सचिवालयले जनाएको छ ।
कोरोना संक्रमणपछि चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय पोलिटब्युरो स्थायी कमिटीस्तरका नेताबाट भएको यो पहिलो विदेश भ्रमण हो । यसपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि आउँदो सेप्टेम्बर १४१६ मा मध्य एसियाली मुलुकको भ्रमणमा निस्कने भएका छन् ।
यस्तो छ लीको चारदिने कार्यक्रम
सोमबार
- साढे ३ बजे काठमाडौंमा उत्रने ।
- त्यसपछि सोल्टी होटलमा जाने/बस्ने ।
- सोल्टीबाट शिष्टाचार भेटवार्ता गर्न बानेश्वरमा संसद् भवनमा आउने र त्यही द्विपक्षीय भेटवार्ता हुने, उक्त वार्तामा सबै दलका प्रमुख सचेतक र सचेतक तथा नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्य पनि हुने
- त्यसपछि सभामुख अग्नि सापकोटाले आयोजना गरेको रात्रिभोजका लागि फेरि सोल्टी होटलमै फर्कने
मंगलबार
- बिहान सवा ९ बजे बानेश्वरस्थित संसद् भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने ।
- त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने
- बानेश्वरबाट सोल्टी होटलमा पुगेर परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने ।
- त्यसपछि दिउँसो प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटर जाने
बुधबार
- दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने ।
बिहीबार
- बिहान फर्कने