कर्मचारीहरु विभिन्न वहाना गर्दै विदेश जाने लर्को चलिरहेका बेला केन्द्रिय आयोजना कार्यान्वायन इकाई भवन तथा आवासका कर्मचारी विदेश शयरमा मस्त छन् । आफ्नै कार्यालयभित्र परामर्शदाताको काम गरिएको एक निजी कम्पनीको खर्चमा कार्यालयका प्रमुखसहितका कर्मचारी कार्यालय नै रित्तो पारेर भारत भ्रमणमा व्यस्त भएका हुन ।
भ्रमणमा केन्द्रिय आयोजना कार्यान्वायन इकाइ भवन तथा आवासका प्रमुख कोषनाथ अधिकारी, सिनियर डिभिजनल इञ्जिनियर लिला खतिवडा, लेखा प्रमुख रेशमकुमार खत्री, लेखा अधिकृत युवराज गिरी र इञ्जिनियर गोपाल भट्टराई सहभागि छन् । सम्पदाको परामर्शदाताको काम गरिरहेको भारतिय कम्पनी इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले कार्यालयका कोर टिमलाई नै रिझाउन एक हप्ते खानपान र भ्रमणको आयोजना गरेको श्रोतले जनाएको छ । कार्यालयको नेतृत्व गर्ने प्रमुखसहित अन्य पदाधिकारी भारत भ्रमणमा रहेको कार्यालयको प्रशासन शाखाले पुष्टि गरेको छ ।
दिनरात नभनी पुननिर्माणको काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी बोकेको कार्यालयका प्रमुखसहितका कर्मचारी भ्रमण तथा मोजमस्तीमा व्यस्त रहनु दुर्भाग्य भएको एक कर्मचारीले बताए । २०७२ सालमा शुरुवात भएको उक्त कार्यालय पाँच वर्षभित्र कार्य सम्पन्न गर्ने लक्ष्यसहित स्थापना भएको थियो । श्रोत भन्छ, ‘सात वर्षमा पनि पुननिर्माणको कार्य पुरा भएको छैन, दुनियाँले देख्ने धरहराको त त्यो स्थिति छ अरुको हालत के होला ?’ उनले प्रतिप्रश्न गरे । पुननिर्माणको कार्य पुरा हुन नसकेकोमा उनी रुष्ट देखिए । भ्रमणका विषयमा कार्यालयका प्रमख कोषनाथ अधिकारीसँग जानकारी लिन खोज्दा फोन सम्पर्क हुन सकेन । सिएलपिआईयु भवन तथा आवासले ८ वटा विभिन्न कार्यालयमार्फत ३२ जिल्लामा भौतिक संरचना पुननिर्माणको कार्य गरिरहेको छ ।
यहाँ समावेश गरिएका तस्विरहरु आयोजनाका इञ्जिनियर गोपाल भट्टराईको फेसबुकबाट