नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् । सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा रहेका दलको जीत अपरिहार्य रहेको बताए ।
संविधान दिवस २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायलाई गठबन्धनमा रहेका दललाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि हार्दिक अपील पनि गरेका छन् ।
शुभकामना सन्देशको पुर्ण पाठ…..
संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ ।
सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जान्छ । यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको छ ।
वर्तमान संविधानकै कार्यान्वयनको क्रममा हामी आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रक्रियामा छौं । संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ । त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि हार्दिक अपील गर्दै पुनः एकपटक संविधान दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
पुष्पकमल दाहाल (प्रचण्ड)
२०७९–०६–०३