आरजु राणा समानुपातिक उम्मेदवार

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा समानुपातिक उम्मेदवार हुने भएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणालाई समानुपातिक उम्मेदवार बनाउने तयारी गरेकाे हाे ।

कैलालीकाे ५ नम्बर क्षेत्रसहित देशका विभिन्न ठाउँबाट उनकाे नाम सिफारिस भए पनि उनलाई अन्त्यमा समानुपातिक राख्ने निर्णय गरिएकाे हाे । यसअघि २०७४ मा आरजु कैलाली-५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । उनलाई एमालेका नारदमुनि रानाले चुनाव हराएका थिए । 

कानुनबमोजिम प्रतिनिधिसभा र प्रदेशसभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । जसअनुसार प्रतिनिधिसभाका २७५ मध्ये ११० जना र सातवटै प्रदेशसभामा २२० जना सदस्य समानुपातिकतर्फबाट निर्वाचित हुन्छन् । त्यसैका लागि दलहरुले सोमबारसम्म आ-आफ्नो दलका तर्फबाट आयोगमा उम्मेदवारको सूची दर्ता गर्न लागेका हुन् ।

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ । समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ ।

काँग्रेस स्राेतका अनुसार आरजुसहित दुई सहमहामन्त्रीको नाम पनि समानुपातिकमा समेटिने भएको छ । सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकमा उठाइने ती पदाधिकारीले जनाए । त्यसैगरी पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकमा समेटिने भएको स्राेतले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *