गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा

Share this post :

Facebook
Twitter
WhatsApp

गुल्मी घर भई दुबईमा काम गर्दै आएका ३१ वर्षिय भरत विकलाई १ करोड दिर्हाम (झन्डै ३५ करोड नेपाली रुपैयाँ) को चिठ्ठा परेको छ । विकले महजूज चिठ्ठामा ३५ करोड जितेका हुन् । यूएईको समाचार संस्था खालिज टाइम्सका अनुसार भरत दुबईमा कार धुने काम गर्दै आएका छन् ।
उनी तीन वर्षअघि दुवई गएका थिए । उनले चिठ्ठामा जितेको पैसाले घर परिवार राम्रोसँग व्यवस्थापन गर्ने बताएका छन् । २५ वर्षीय भाइको उपचारका लागि पैसा जुटाउन दुबई पुगेको बताइएको छ । उनका भाइ ब्रेन ट्युमरबाट पीडित छन् । उनका बुवा पनि भारतमा सवारी चालकका रूपमा कार्यरत छन् । बुवाछोरा मिलेर भाइको उपचारका लागि पैसा जुटाइरहेका थिए ।
खालिज टाइम्ससँगको कुराकानीमा उनले भनेका छन्, ‘मेरो भाइको भारतको नयाँदिल्लीमा उपचार भइरहेको छ । अपरेसनका क्रममा उनलाई प्यारालाइसिस भएको छ । उनको श्रवणशक्ति पनि गुमेको छ । यो पैसाले भाइको उपचार सहज हुने भएको छ ।’ उनीसँग बैंक खाता नभएकाले लट्री कम्पनीले नै खोलिदिन लागेको छ ।
महजूजको अपरेटर इविंग्सका सीईओ फरिद साम्जी भन्छन्, ‘हामीले उहाँको खाता खोल्न सघाएर पैसा ट्रान्सफर गर्दैछौँ ।’ भरतले बाँकी पैसा आफ्ना ५ वर्षीय छोरा र ३ वर्षीया छोरीको सुखद भविष्य निर्माणमा खर्चिने बताएका छन् । सेप्टेम्बर २७ मा नेपाल फर्किने तयारीमा रहेका भरतले नियमित रूपमा महजूज लट्री किन्दै आएका थिए । पछिल्लो पटक घर जानुभन्दा अघि एउटा लट्री किनौँ न भनेर किनेको पनि उनी बताउँछन् । ‘रातिको १ बजेको थियो, घर जानुभन्दा अघि एक पटक चिठ्ठा खेल्नुपर्छ भन्ने लागेर किनेको थिएँ’ उनले भने ।
जीवनमै नयाँ मोड ल्याउने भरतले किनेको लट्री टिकटको नम्बर थियो १६, २७, ३१, ३७, ४२ । साढे २ वर्षदेखि नियमित रूपमा चिठ्ठा खेल्दै आएका उनले १६ र २७ नम्बर सधैँ छान्ने गर्थे, जुन उनका लागि विशेष पनि हो । उनी भन्छन्, ‘२७ गते म जन्मेको दिन हो भने १६ मैले विवाह गरेको दिन ।’
भरतले कार धुँदै गर्दा नै चिठ्ठा जितेको थाहा पाएका थिए । चिठ्ठा विजेता घोषणाको क्षण सम्झिँदै उनी भन्छन्, ‘मेरा साथीहरू मसँगै थिए । प्रत्येक नम्बर मिल्दै थियो । उनीहरू पनि उत्साहित थिए । जब अन्तिम नम्बर मिल्यो उनीहरू खुसीले उफ्रिए । त्यो रात म निदाउनै सकिनँ । अर्को दिन कार धुँदै थिएँ, महजूजबाट एक जना महिलाले फोन गरिन् ।’ भरत अब पूर्वनिर्धारित समयमा भने घर नफर्किने भएका छन् । सबै प्रक्रिया पूरा भएपछि मात्र उनी घर फर्किने बताएका छन् । उनले परिवारलाई पनि अहिलेसम्म पूरा जानकारी नगराएको बताउँछन् । ‘मैले परिवारलाई चिठ्ठामा कति जितेँ भनेर भनेको छैन । मैले परिवारलाई चिठ्ठा जितेँ मात्र भनेको छु । मैले घर गएर सबैलाई सरप्राइज दिने सोचेको छु ।’
भरत नेपालबाट महजूजको सबैभन्दा ठूलो रकमको चिठ्ठा जित्ने पहिलो व्यक्ति हुन् । दुबई आउनुभन्दा अघि उनी साउदी अरेबियामा काम गरेका थिए ।
यूएईको प्रतिष्ठित मानिने महजूजले अहिलेसम्म ९ अर्ब ८५ करोड रुपैयाँ विजेताहरूलाई दिइसकेको छ । महजजूबाट करोडपति बन्ने भरत २८ औं व्यक्ति हुन् । महजूजको एउटा टिकटको मूल्य ३५ दिर्हाम (करिब १२ सय नेपाली रुपैयाँ) पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *