चोलेन्द्र स्वाभाविक देखिनुभएको छैन: सभामुख सापकोटा

Share this post :

Facebook
Twitter
WhatsApp

कान्तिपुर टिभी ‘टफ टल्क’को ‘र्‍यापिड फायर’मा सभामुख अग्निप्रसाद सापकोटा र उक्त टिभीका सम्पादक दिलभुसन पाठकबीचको रोचक संवाद:-

दिलभुसन पाठक: कोसँग बढी बिश्वास छ, शिक्षक कि राजनीतिज्ञ?

सभामुख सापकोटा: शिक्षक।

पाठक: राजनीतिमा परिवर्तन शान्तिपूर्ण कि सशस्त्र?

सापकोटा: अन्तिमसम्म शान्तिपूर्ण ढङ्गले प्रयत्न गर्नुपर्छ र सशस्त्र दमन भयोभने त्यसको प्रतिरोध गर्नुपर्छ।

पाठक: पार्टी नेतृत्वको प्राथमिकता कार्यकर्ता कि आम नागरिक?

सापकोटा: त्यसको द्वन्द्वात्मक सम्बन्ध छ।

पाठक: चुनावी प्रतिस्पर्धा गठन्धन भएर कि एक्लाएक्लै?

सापकोटा: त्यो परिस्थितिले निर्धारण गर्ने कुरा हो। स्वस्थ प्रतिस्पर्धा नै राम्रो कुरा हो।

पाठक: सदनमा कस्को भूमिका जटिल, सत्तापक्ष कि प्रतिपक्ष?

सापकोटा: कसले लोकतान्त्रिक मुल्यमान्यताको आत्मसात गर्छ, त्यसबाट अलि जटिलताको सिर्जना हुँदैन। त्यो आत्मसात नगर्नेबाट अलि जटिलता सिर्जना हुन्छ।

पाठक: चुनाव लड्नुभयो र जितेर आउनुभयो भने अर्को कार्यकालमा के बन्नुहुन्छ? सभामुख, मन्त्री कि प्रधानमन्त्री?

सापकोटा: रियल भन्छु, त्यतातिर मैंले सोचेको छैन।

पाठक: तपाईं तत्कालीन नेकपाबाट सभामुख भएको ब्यक्ति, अब एमालेसँग एकता सम्भव छ कि छैन?

सापकोटा: हैन, असम्भव भन्ने कुरा त के छ र? सम्भव हुनसक्छ। तर समय लाग्ला।

पाठक: एकजना रोज्नुपरे तपाईं कसलाई रोज्नुहुन्छ, केपी शर्मा ओली कि माधवकुमार नेपाल?

सापकोटा: यो कुरा म सभामुखको जिम्मेवारीबाट हटेपछि भनौंला।

पाठक: एक शब्दमा, राष्ट्रपति विद्यादेवी भण्डारी?

सापकोटा: वर्तमानमा उहाँ सम्माननीय राष्ट्रपति हुनुहुन्छ।

पाठक: होइन, त्यो पदभन्दा बाहेक?

सापकोटा: पदभन्दा बाहेकको कुरा गर्ने हो भने त मेरो उहाँसँग राम्रै सम्वन्ध छ। लामो अन्तरक्रिया हुन्छ।

पाठक: एक शब्दमा प्रधानमन्त्री शेरबहादुर देउवा?

सापकोटा: सभामुख र प्रधानमन्त्री हैसियतले कुरा हुँदा उहाँले हुँदैन भनेको केही छैन। धेरै सोचिसम्झी गरेको पनि केही छैन। ठिक छ, हुन्छ भन्ने नै छ।

पाठक: पुष्पकमल दाहाल, एक शब्दमा?

सापकोटा: उहाँसँगको मेरो सम्बन्ध त ०३७ सालदेखिकै हो?

पाठक: टिप्पणी गर्नु न एक शब्दमा?

सापकोटा: डायनामिक लिडर।

पाठक: डा. बाबुराम भट्टराई?

सापकोटा: अध्ययशील।

पाठक: केपी शर्मा ओली?

सापकोटा: योजना निर्माणमा अलि कुशल।

पाठक: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा?

सापकोटा: स्वाभाविक देखिनुभएको छैन।

पाठक: एमसीसी पारित हुनु सहि कि गलत?

सापकोटा: यसलाई बिकासनिर्माणमै सीमित राखेर कार्यान्वयन हुँदा आवश्यकै कुरा हो।

२.श्रीवास्तव स्टन्ट: लुतो न कन्याई

बिरगंज। लोसपा नेता विमल श्रीवास्तवले राजनीतिबाट सन्यास लिने रे! एमालेमा प्रवेश गर्ने भन्दाभन्दै पर्सामा एमालेबीच चर्को मारामार देखेर उनी अन्ततः राजनीतिबाट सन्यास लिने मुडमा पुगेका हुन्। लोसपा अत्यन्तै कमजोर भएको र एमाले आन्तरिक मारामारमा फसिरहेको देखेर केहिदिन अघि मात्र उनले ‘चुनाव नलड्ने’ मनस्थिति बनाएको बताएका थिए।

लोसपाका कार्यकारिणी सदस्य श्रीवास्तव ‘राजनीतिमा युवाहरुलाई मौका दिनुपर्छ नि, सधैं हामी नै चुनाव लड्ने, सधैं हामीले नै पार्टीमा नेतृत्व गर्ने? त्यसैले राजनीतिबाट नै सन्यास लिने सोच बनाएको छु। बरु सामाजिक काममा लाग्छु।’ भन्दैछन्। तर उनको राजनीतिक बिगत सामन्ती र दमनकारी हो। उनी चरम अवसरवाद छोपेर पन्चायत, बहुदल र गणतन्त्रबीच वडा अध्यक्ष, चार पटक मेयर, दुई पटक सांसद र एकपटक मन्त्री समेत भइसकेका ठालु हुन्।

पन्चायतको दानापानीमा गुण्डागर्दी र लुटपाट मच्चाउने स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका उनी बहुदल आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिरगंजको मेयर बने। गणतन्त्र आएपछि भने महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा लागे। तमलोपाबाटै संविधानसभा सदस्य भए। तमलोपा सहित मधेसी दल मिल्दा सुरुमा राष्ट्रिय जनता पार्टीतिर लागेपनि २०७४ सालको स्थानीय चुनावमा वीरगञ्जको मेयरमा राजपाले राजेशमान सिंहलाई टिकट दिने भएपछि उनी विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट मेयर उठी पराजित भए ।

चुनावमा जुनसुकै हतकण्ठा अपनाउन सक्ने उनी मेयरमा पराजित भएपछि तत्कालै संघीय समाजवादी फोरममा प्रवेश गरी पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा विजयी भए। अन्ततः महन्त ठाकुरतिरै लागेर केपी अ‍ोलीको प्रतिगामी सरकारमा १८ दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका उनले स्थानीय निर्वाचनमा वीरगञ्जमा एमालेसँग चुनावी तालमेल गराउन सक्रिय भूमिका निर्वाह गरे। तर उनको सक्रियताले हावा खायो। जसपाका राजेशमान सिंहले अत्याधीक मतले मेयर जिते।

७३ बर्ष पार हुँदैगर्दा चाहिँ  राजनीतिमा चरम असफलता लागेपछि उनी सन्यासको संवेदना छर्दैछन्। मधेस राजनीतिले त उनलाई डेट एक्स्पाएर सावित गरेको छ नै, तै तै कसैले घुर्की सुनेर पद दिईहाल्छ कि भन्ने आत्मस्लाघा अझै प्रकट गर्दैछन्। राजनीतिबाट सन्यास लिएछन् नै भनेपनि उनको निर्णय जनतालाई लुतो न, कन्याई!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *