नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिलेको व्यवस्था नै खतरामा रहेको बताएका छन् । उनले राष्ट्रियतामाथि नै आक्रमण हुन थालेको बताए । ‘यदी सिस्टमसँग चित्त नबुझे बहस गर्ने हो तर, अराजकता र अस्थिरता निम्त्याउने काम गर्न हुदैन’ उनले भने । उनले व्यवस्था र संविधान जोगाउन बाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए ।
माओवादी केन्द्र पोखरा महानगर कमिटिले राखेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यतिबेला मुलुक नै संकटमा परेको बताएका थिए । नजिकिदै गरेको निर्वाचनमा केन्द्रित रहदै उनले अहिले टिकट लिने क्रममा आ–आफ्नो पार्टीभित्र संघर्ष भए पनि टिकट पाएपछि बाम लोक गठबन्धन नै एकताबद्ध भएर अगाडी बढ्ने बताए । ‘हाम्रो पा“च दलिय गठबन्धन अहिलेको व्यवस्था र संविधान रक्षाको लागि हो’ उनले भने, ‘प्रतिगमनहरुको गठबन्धन संघियता र कानुनका विरोधीहरुको हो ।’
निर्वाचन एउटा आन्दोलन रहेको तर्क उनको थियो । नेपालको इतिहास, विकासको गति र भविष्यमा समाजवादको गति लिन निर्वाचन आवश्यक रहेको बताए । आगामी निर्वाचनमा प्राप्त मतले संघियताको पक्ष र विपक्षमा भन्ने पनि प्रष्टाउने उनको भनाई थियो । दुई पटक संसद विघटन गर्नु, ९ महिना संसद अवरोध गर्नु पनि गलत चिन्तन रहेको उनले प्रष्टाएका थिए । महासचिव गुरुङले चाडपर्वको समयमा शुभकामना दिन पाउनु सवैको अधिकार र इच्छा हुने बताउँदै पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना दिने क्रममा पनि व्यवस्थामाथि नै च्यालेन्ज गरेको बताए । गुरुङले नागरिकता विधेयकमाथि राष्ट्रपतिबाट पारित नहुनु व्यवस्थामाथि नै खतरा रहेको संकेत गरे ।
‘सवै कुरा राष्ट्रपतिले रोक्दै जाने हो भने व्यवस्था सफल कसरी हुन्छ ?’ उनले प्रश्न गरे, ‘यसरी सरकारले चाहेर पनि केही काम गर्न सक्दैन । अव निर्वाचन आउ“दै छ । निर्वाचित शपथको लागि राष्ट्रपतिसमक्ष पुग्दा यो निर्वाचन प्रणली नै गलत छ । म शपथ खुवाउन सक्दिन भने के हुन्छ ?’ उनले राष्ट्रपतिको पश्चगामी चिन्तनका कारण पनि समस्या उत्पन्न भएको बताए । उनले नागरिकता विधेयक विधि र प्रक्रियामा अघि बढाउनुको विकल्प नरहेको बताए । उनले सामान्तवाद हटिसके पनि व्यवहार र सोचमा भने नहटिसकेको बताए । यस्तै, चाडपर्व सँस्कृतिको अभिव्यक्ति रहेको उनले बताएका छन् । चाडपर्वले नेपाली समाज एकताबद्ध, इतिहासको पहिचान र साँस्कृति एकतालाई जोडेको बताउदै महासचिव गुरुङले पश्चिमेली संस्कृतिका कारण नेपाली संस्कृति नै जोखिममा रहेको बताए ।