सोमबारको महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०।२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकी खेल सम्भव नभएपछि डीएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।
खेल रोकिनुअघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ७ रन बनाएकी थिइन् । दिव्या रानाले ३, करिश्मा राइले १ रन जोड्दा कर्णालीका ५ जना शून्य रनमै आउट भए । पुलिस क्लबकी सवनम राई, संगीता राई, कविता जोशी, इश्वरी विष्ट र हिरनमाय रोयले समान १ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा ४ ओभर घटाइएको थियो ।
पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्दतमा २५ रन बनाइन् । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कविता र काजल दुवैले समाज १६ रन बनाएका थिए । रेवती धामीले १४ रन बनाइन् । कर्णाली प्रदेशका लागि अन्जु गुरुङले ३ तथा बिना थापा र एञ्जिला क्षेत्रीले समान १ विकेट लिए । खेलमा पुलिसकी सम्झना खड्का प्लेयर अफ द म्याच भइन् ।
