आगमी चैतमा संचालन हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण व्यवस्थापन अव प्रदेश तहबाटै हुने भएको छ । सातै प्रदेशले आ–आफ्ना ठाउँको एसईई परीक्षा व्यवस्थान गर्न परीक्षा नियन्त्रण कार्यालयले पत्राचार गरेको हो । गतवर्षको परीक्षा व्यवस्थापन गर्न पत्राचार गरेको भए पनि समय अभावका कारण उच्च शिक्षा परीक्षा बोर्डले नै पत्राचार गरेको थियो । अवदेखी संचालन हुने परीक्षाको व्यवस्थापन भने, प्रदेश तहवाट नै हुनेछ । यसको लागि तयारी अवस्थामा जुटिसकेको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
यसअघिका एसईई परीक्षाको सम्पूर्ण व्यवस्थापन उच्च शिक्षा परीक्षा बोर्डले गर्ने भए पनि अव परीक्षाको सम्पूर्ण व्यवस्थापन प्रदेशबाटै हुने भएको हो । एसईई परीक्षा तयारीको लागि गत माघमा निर्देशन गरिएको थियो । व्यवस्थापन तयारीमा जुट्दाजुट्दै परीक्षा गराउने समय नभएको हुदाँ गतवर्षको एसईई परीक्षाको व्यवस्थापन केन्द्रवाटै गरिएको थियो । परीक्षा नियन्त्रण कार्यालयले असोज २६ गते पुनः प्रदेश तहमा नै व्यस्थापनको लागि पत्राचार गरेको थियो ।सोही अनुरुप गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय यसको तयारीमा जुटेको जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले प्रदेशलाई विभिन्न १४ प्रकारका काम गर्न अनुमति दिएको गण्डकी प्रदेश शिक्षा निर्देशक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार गत माघको परिपत्र अनुसार गण्डकीमा काम गर्न थालिए पनि अधुरै रहयो । नयाँ जिम्मेवारी समय थोरै भएकाले गतवर्षको परीक्षा संचालन गर्न नसकोको उनको भनाई छ । ‘अव आउने एसईई परीक्षाको पूर्ण जिम्मेवारी हामी आफै समाल्न सक्छौ’ उनले भने, ‘यसको लागि विभिन्न चरणका छलफल भइरहेको छ ।’ उनले अन्य प्रदेश भन्दा गण्डकीमा विभिन्न चरणका छलफल अगाडि बढाइएको बताए । एसईई परीक्षाको व्यवस्थापन अन्तर्गत कक्षा नौ मा रजिष्ट्रेशन, कक्षा १० को आवेदन, एसईई परीक्षा संचालन, उत्तर पुस्तिका परीक्षण, त्यसका लागि आवश्यक विभिन्न फारमहरुको व्यवस्थापन, फारम इन्ट्री, यसै विषमा जिल्लामा अभिमुखीकरण तालिम संचालन, परीक्षा केन्द्र निर्धारण, सिम्बोल नम्बर कायम, प्रयोगात्मकको अंक इन्ट्री, परीक्षार्थीको अयोग्य विवरण तयारी, उत्तर पुस्तिका परीक्षणको लागि आवश्यक सामाग्री व्यवस्थापन लगायतको काम प्रदेश तहबाटै हुने अम्बिकाले बताए ।
परीक्षा नियन्त्रण कार्यालयको वार्षिक कार्य तालिका अनुसार प्रदेशस्तरमा कार्यक्रम संचालन गर्नुपर्ने हुन्छ । यसको लागि गण्डकीमा ‘५ सदस्यीय प्रदेश परीक्षा संचालन तथा व्यवस्थापन समिति’ गठन भएको छ । जसको अध्यक्षमा सामाजिक विकास मन्त्रालयका सचिव रहने व्यवस्था छ । सदस्य सचिवको रुपमा भने प्रदेश शिक्षा निर्देशक रहनेछन् । यस समितिको सचिवालयको काम र परीक्षा व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम प्रदेश शिक्षा निर्देशनालयले गर्नेछ । ‘अहिले हामी परीक्षा व्यवस्थापन मात्रै गर्नेछौ’ सदस्य सचिवसमेत रहेका आचार्य भन्छन, ‘नतिजा तयारी गर्छौ तर, प्रकाशन भने राष्ट्रिय परीक्षा बोर्डबाटै हुन्छ । अहिलेलाई प्रश्न निकाल्ने काम पनि बोर्डवाटै हुन्छ । परीक्षाको रुटिङ भने हामी प्रदेशबाटै निकाल्छौ ।’ सचिवालयले आगमी एसईई परीक्षाको लागि तयारीमा जुटिसकेको बताएको छ ।
समितिको अहिलेसम्म ६ वटा वैठक बसेको छ । समितिलाई परीक्षा संचालनको अधिकार प्राप्त भएपछि अधिकार कसरी उपयोग गर्ने भन्ने विषयमा पहिलोपटक पोखराको जनप्रिय माध्यामिक विद्यालयमा असोज २५ गते छलफल चलाएको थियो । यस छलफलमा मनाङ बाहेक १० जिल्लाका जिल्ला शिक्षा समन्वय इकाई प्रमुखको सहभागीता रहेको थियो । शिक्षामा कार्यरत र सेवा निवृत्त कर्मचारी, शिक्षकका पेशगत संघ संगठनका प्रमुख एवंम् प्रतिनिधि, प्याव्सन, एनप्याव्सनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको यस कार्यक्रममा एसईई परीक्षाको संचालन र व्यवस्थापनमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । सचिवालयले सझुाव संकलन गरेको बताउँदै उक्त सुझाव अनुसार परीक्षा व्यवस्थापनमा सुधार ल्याउन पहल गर्ने जनाएको छ । राष्ट्रिय परीक्षा वोर्ड नियमावली, २०७६ मा २०७८ माघ २४ मा पहिलो संसोधन भई माध्यामिक तह कक्षा १० को अन्तमा लिइने परीक्षाको व्यवस्थापन र सहजीकरणका लागि सामाजिक विकास मन्त्रालयको सचिव अध्यक्ष र शिक्षा निर्देशक सदस्य सचिव रहने गरी ५ सदस्यिय समिति गठन हुने प्रावधान राखिएको र उक्त समितिको काम कर्तव्य र अधिकारसमेत तोकिएको छ । वि.सं. १९९० बाट नेपालमै परीक्षा वोर्ड स्थापना भई उक्त वोर्डले गर्दै आएका कक्षा ९ को रजिष्ट्रेशन, कक्षा १० परीक्षाको आवेदन, मार्क इन्ट्रि लगायतका १४ वटा कार्यहरु मध्ये धेरै जसो कार्य जिम्मेवारी प्रदेश तहलाई सुम्पिने गरी नीतिगत निर्णय भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले एसईई परीक्षा पुरानै शैलीमा भएको बताए । ‘परीक्षा संचालन मात्र ठूलो कुरा होइन’ उनले भने, ‘यसमा कसरी सुधार गर्न सकिन्छ ? लामोसमयदेखी शिक्षा सेवामा लागेका व्यक्तिले सोच परिवर्तन गर्न जरुरी छ ।’ उनले समय परिवर्तनसँगै व्यक्तिको सोच पनि परिवर्तन नहुदा“सम्म परीक्षा व्यवस्थापनमा कुनै सुधार गर्न नसकिने बताए । ‘जव मान्छेको सोच बदलिदैन तवसम्म परीक्षामा कुनै सुधार आउँदैन’ उनले भने ।
