उत्पीडितको पक्षमा सदा क्रियाशील

Share this post :

Facebook
Twitter
WhatsApp

लमजुङ जिल्ला दोर्दी गाउँपालिका–२ की स्थायी बासिन्दा हुन उर्मिला माझी ‘पौडेल’ । काभ्रेको विकट डाँडापारी क्षेत्रको डाँडागाउँ गाविस हाल खानीखोला गाउँपालिकाको जगथलीमा माझी समुदायको सामान्य परिवारमा बुबा नजरमान माझी र आमा लिलामाया माझीको कोखबाट जेठी छोरीको रूपमा २०४० सालमा जन्मिएकी उर्मिला सानैदेखि विद्रोही स्वभावकी हुन् ।
मुलुकमा माओवादीको जनयुद्ध चर्किरहेका बेला माध्यमिक तहमा पढ्दादेखि १५ वर्षकै उमेरमा उहाँ जनयुद्धमा सहभागी हुँदै माओवादी पार्टीमा सक्रिय भएर लागिन् । राजनीतिमा सक्रिय हुँदा उनले बागमती प्रदेशलाई नै कार्य क्षेत्र बनाएर यहाँका कुना काप्चामा पुगेर जनताको हक हित र अधिकारको पक्षमा आवाज बुलन्द पार्दै हिडिन् ।

जनयुद्धकालमा काभ्रे, मकवानपुर, ललितपुरको दक्षिणी भेगमा पार्टीको भुगोलमा जिल्ला समिति र एरिया ईन्चार्जको जिम्मेवारी लिएर काम गरेकी उर्मिलालाई कमरेड उमाको नामले त्यस क्षेत्रले चिन्दछन् ।

जनयुद्धको क्रममा उनले २०६० सालमा आफ्नो जीवनसाथी गुमाउनुपर्यो । जीवनसाथी गुमाएको खबर १० दिनपछि पाएकी उनले जीवनसाथी गुमाउँदा पनि क्रान्तिमा अविचलित भएर लागिन् । शान्ति प्रक्रियापछि काठमाडौं उपत्यका प्रवेशसँगै कमरेड उमाले उर्मिला माझीको सशक्त पहिचान बनाउँदै राजनीति र समाजसेवामा सक्रिय बनिन् ।

जनयुद्धको घनीभूत चरणमा पार्टीले दिएको जिम्मेवारीलाई अनुशासित ढंगले पूरा गर्न सफल भएकोमा गर्वको महशुस गर्छिन् उर्मिला । सुरुवाती चरणदेखि आजसम्म प्रचण्डले नेतृत्व गरेको मुल पार्टीमा अडिग भएर क्रियाशील छन् उनी । शान्ति प्रक्रियासँगै उनले हाल माओवादी केन्द्रको विशेष प्रदेश समिति अन्तर्गत रहेर तथा माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय महासचिव भएर कर्तव्य निर्वाह गरिरहेकी छन् ।

शान्ति प्रक्रियासँगै जनयुद्धका सहयात्री क्रान्तिकारी पत्रकार हाल प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलसँग अन्तरजातीय जनवादी विवाहमा जोडिएकी उर्मिला अर्थात कमरेड उमा आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । उनी २०७० सालको निर्वाचनमा पनि समानुपातिक तर्फबाट बन्द सुचीमा परेकी थिइन् । तर, साँसद बन्ने अवसर भने पाइनन् ।

हालसम्म कुनै पनि लाभको अवसर प्राप्त नगरेकी उमाको नाम यसपटक पनि समानुपातिक बन्द सुचीमा समावेश भएकोमा देशैभरका माझी समुदाय र सहिद वेपत्ता परिवारले खुसी व्यक्त गरेको उनी बताउँछिन् । चुनावी प्रचारप्रसार अभियानमा लमजुङमा व्यस्त रहेकी माझीसँग प्रेस सेन्टरका पुष्पा महराले गरेको कुराकानीको अंशः

चुनाव प्रचारप्रसारमा कत्तिको लाग्नुभएको छ ?
चुनाव संघारमा आइसकेको छ । त्यसैले पनि प्रचार प्रसारमा हामी सक्रिय भएर अघि बढेका छौं । निर्वाचन आयोगले प्रचार प्रसारका लागि कात्तिक १७ गतेपछि मात्रै तोकेको भएपनि हामी त्यसअघिदेखि नै जनताको घरदैलोमा जनतासँगै थियौं । अहिले पनि त्यसैलाई निरन्तरता दिएका हौं ।

जनताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
जनतामा अहिले एकखालको उत्साह छ । माओवादीसहितको गठबन्धनले नै अहिलेको अग्रगमनको दिशालाई अंगाल्न सक्छ, प्रतिगमनले खोस्न खोजेका केही चिजहरु अग्रगामी शक्तिहरुले रोकेर त्यसलाई बचाएर अगाडि बढाउन सक्छ भन्ने जनतामा विश्वास छ । हिजो स्थानीय निर्वाचनमा प्रतिगमनकारीहरुलाई साथ दिएकाहरु पनि अहिले पछुतो मान्दै अब यस्ता गल्ती नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

जनताका अगाडि कस्ता एजेन्डा लिएर जानुभएको छ ?
अहिले माओवादी केन्द्रको एजेन्डा भनेकै संविधानको रक्षा, स्थिरता, समृद्धि र विकास रहेको छ । हामीले पार्टीका यिनै एजेण्डाहरुलाई जनताको घरदैलोसम्म पु¥याउने गरेका छौं । त्यसका साथै माओवादीले उठाएका सामाजिक न्याय र सुशासनसहितको समृद्धि कसरी हाँसिल गर्न सकिन्छ भन्ने विषय हाम्रो प्राथमिकतामा छ ।

तपाईले प्रतिनिधिसभामा समानुपातिक सांसद बन्नुभयो भने के के गर्न सक्नुहुन्छ ? जनतालाई के गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ?
हामीले जुन लक्ष्य र उद्देश्य बोकेर निर्वाचनमा होमिएका छौं, जुन वाचा जनतासँग गरिरहेका छौं, निर्वाचित भएर आइसकेपछि सबभन्दा पहिला जनता सामु गरेका वाचा प्रतिवद्धताहरु सम्बोधन गर्ने कुरामा प्रतिवद्ध रहनेछु । त्यस्तै जनताको समस्या, गुनासा, मागहरुलाई सम्बोधन गर्ने कुरा हामीले अहिले उहाँहरुसमक्ष राखेका छौं ।

थप केही भन्न चाहनुहुन्छ ?
विशेष गरी उत्पीडनमा परेको आदिवासी जाती, अन्य समुदाय, वर्ग, क्षेत्र, लिंगको हक अधिकारका निम्ति हाम्रो उम्मेदवारी हो । हजारौंको बलिदान, त्याग तपस्याबाट प्राप्त गणतन्त्र र संविधानमा उल्लेखित अधिकार अझै पनि व्यवहारत कार्यान्वयन हुन नसकिरहेको अवस्थामा त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने र गराउने कुरामा हामी लागिपर्ने छौं । त्यसैले देशभर रहनुभएका माझी समुदाय, सहिद वेपत्ता परिवार र आम मतदाताहरूलाई म अग्रगमनको एजेन्डा बोकेको, परिवर्तनको सूत्रधार र उत्पीडितहरूको भरोसाको एकमात्र केन्द्र नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हतौडा चिन्हमा मतदान गरी माओवादी केन्द्रलाई विजय गराउन अपील गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *