कास्की निर्वाचन क्षेत्र २ को (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । शनिबार मतदातासँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामका लागि मत दिन आग्रह गरेका हुन् ।
‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ’ उनले भने । थापाले सर्वेश्वर मानव सेवा बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्यक पहकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
थापाले विकासको पहिलो खुड्किलो सडक भएकाले पोखरा ११ मा भएका सडक समस्यालाई निर्मुल पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । जनताको मतको सम्मान गर्दै आगामी समय पनि जनताकै सेवासुविधामा लाग्ने प्रण उनको छ । पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए ।
काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ । उनले विगत पाँच वर्ष जनताको मन जित्न सफल भएको र आगामी समय पनि जनताकै सेवकका रुपमा काम गर्ने बताए । विकासका लागि पार्टी भन्दा माथि उठेर मत हाल्न उनले मतदातालाई आग्रह गरेका छन् ।
