कास्की १ को १ यसरी बन्दैछ नमुना

Share this post :

Facebook
Twitter
WhatsApp

–मुख्य र भित्री बाटोमा साइकल लेन
–अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
–भण्डारढिकमा राष्ट्रियस्तरको रंगशाला
–ग्रामिण बाटोमा ढलान र कालोपत्रे
–सात ताल लिंक रोड
–लामेआहालमा प्रादेशिक बसपार्क
–अन्तर्राष्ट्रिय विमानस्थलदेखि पट्नेरी जोड्ने मोटरबाटो
–सात ताल संरक्षण
–सीसाघाट–सिक्लेस करिडोर
पोखरा, ३० कात्तिक ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कास्की–१९१० यतिबेला चर्चामा छ । संघबाट प्रदेश ओर्लिएका एमाले संगठन विभाग खगराज अधिकारी र प्रदेशमा पुनः दोहोयाएका माओवादी केन्द्रका दीपक कोइराला उम्मेदवार छन् । रोचक के छ भने, ०७४ मा वाम गठबन्धन हुँदा अधिकारी प्रतिनिधिसभा र कोइराला प्रदेश सभा सदस्यका उम्मेदवार थिए । कोइरालाका प्रतिस्पर्धी कांग्रेस नेता जीवन परियार थिए ।
अहिले त्यसको ठिक विपरीत कांग्रेस सहमहामन्त्री परियार स्वयंम दीपक कोइरालालाई चुनाव जिताउन खटिएका छन् । उनी आफैं पनि कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा दलिततर्फ पहिलो नम्बरमा छन् । उनी निर्वाचित हुने निश्चित जस्तै छ । पाँच दलीय गठबन्धनबाट हाल कास्की १ मा कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । जीवन परियार, किशोरदत्त र दीपक कोइरालाबीच ‘केमेस्ट्री’ मिलेको छ । स्थानीयले यी तीन उम्मेदवारलाई देशकै नेतृत्व गरेको हेर्न चाहेको बताउने गरेका छन् ।

मंगलबार राति पाँच दलीय गठबन्धनको टोली रुपा गाउँपालिकाको माउँडाँडा पुग्दा स्थानीय हर्षित भए । स्थानीय राजेन्द्र सेन ठकुरीले जीवन परियारलाई संघ र दीपक कोइरालालाई प्रदेशको मन्त्री भएको हेर्न चाहेको बताए । सँगै स्थानीयको समस्या पनि सुनाए । जवाफमा कांग्रेस नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले परियार र कोइराला दुवै मन्त्री हुने ग्यारेन्टी आफूले लिने बताए । ‘जीवन पनि जितेर गएपछि सतप्रतिशत मन्त्री हुन्छन्,’ उनले भने, ‘गण्डकीमा गठबन्धनकै सरकार बन्छ । दीपक पनि एकपल्ट प्रदेश सांसद भइसके, जितेर गएपछि हुने मन्त्री नै हो ।’ कास्कीको १९१० ले संघ र प्रदेश दुवैको मन्त्री पाउँदा नमुना निर्वाचन क्षेत्र हुने उनले ठोकुवा गरे । निर्वाचन क्षेत्रमा हुने हरेक जसो चुनावी सभा र मतदातामाझ उनले परियार र कोइरालालाई भावी मन्त्रीको रुपमा चिनाउने गरेका छन् ।
कांग्रेस सहमहामन्त्री परियारले आफू सांसद हुँदा रुपाको देउरालीबाट माउँडाँडा हुँदै फैचोक जाने मोटरबाटोको ट्र्याक खोलेको स्मरण गरे । निर्वाचित भएर गइसकेपछि पनि निर्वाचन क्षेत्र १ को १ लाई नमुना बनाउन कुनै कसर बाँकी नराख्ने बताए । प्रदेश सभा सदस्य उम्मेदवार कोइरालाले रुपा रिङ रोड आफ्नै कार्यकालमा थालनी भएको र अबको कार्यकालमा निर्वाचित भएर त्यसलाई पूरा गर्ने प्रतिवद्धता गरे ।
पाँच दलीय गठबन्धनको संयुक्त कार्ययोजनापत्रमा समेत कास्की १९१० लाई नमुना बनाउने उल्लेख छ । कार्ययोजना पत्रमा पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता विकास, ताल संरक्षण लगायतलाई जोड दिइएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा बनिरहेको कास्की र तनहुँ जिल्लाको सिमाना कोत्रेदेखि पोखरासम्मको ६ लेनको राजमार्गलाई समयमै सकाउने, यस क्षेत्रमा रहेका ग्रामिण बस्तीहरुलाई जोड्ने सबै सडक सञ्जाललाई व्यवस्थित र कालोपत्र गर्ने, वेगनास तालको वरिपरि फुट ट्र्याक निर्माण, बराह मन्दिरलाई थप व्यवस्थित पूर्वाधार निर्माण गरी पर्यटनको केन्द्र बनाइने गठबन्धनको योजना छ ।
लेखनाथ क्षेत्रभित्र रहेका रुपा, बेगनास, गुँदे, खास्टे, मैदी, दिपाङ, न्यूरेनी तालको संरक्षण गरी विभिन्न विशेषताको आधारमा पूर्वाधार निर्माण गरी आर्थिक गतिविधिको केन्द्र बनाइने योजना कार्ययोजना पत्रमा समेटिएको छ । सात ताल जोड्ने र भित्री सडकमा साइकल लेन निर्माण गरी यस क्षेत्रलाई साइकल सिटी निर्माण गर्ने, पोखरा चक्रपथ निर्माण कार्य अघि बढाउने, गगनगौंडादेखि पट्नेरी हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने सडक निर्माण गर्ने योजना गठबन्धनको छ ।
लेखनाथमा अवस्थित सातवटै ताललाई जोड्ने लिंक रोड निर्माण गर्ने, सहरी क्षेत्रका भित्री सबै सडकलाई ढलान तथा कालोपत्रे गर्ने, भण्डारढिकमा अवस्थित रंगशालालाई राष्ट्रियस्तरको रंगशालामा स्तरोन्नति गर्ने, लामेआहालको निर्माणाधिन बसपार्कलाई प्रदेशस्तरीय बसपार्कको रुपमा स्तरोन्नति गर्ने, तालचोक वेगनास सडक खण्डको विस्तारलाई निर्धारित समयमै सम्पन्न गर्न विशेष पहल गर्ने बताइएको छ ।
लेखनाथ क्षेत्रमा एउटा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल रहेको क्षेत्रलाई संरक्षण एवं प्रवद्र्धन, लेखनाथ क्षेत्रमा रहेका तालको वरपर र यस क्षेत्रका ग्रामीण बस्तीमा समेत होम स्टे, युवाको विदेश पलायनलाई न्यूनीकरण गर्दै पूर्ण रुपमा अन्त्य गर्नको लागि रोजगारीका विशेष योजना निर्माण गठबन्धनको प्राथमिकतामा छ ।
युवा लक्षित रोजगारी सिर्जना गर्न युवालाई निःशुल्क तालिम प्रदान गरी प्राविधिक ज्ञान र सिपयुक्त बनाउने, उद्यमशिलता विकास कार्यमा नै लिन्केज कार्यक्रमको व्यवस्था गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कार्ययोजनामा उल्लेख छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि विशेष प्रकारको शिक्षक तालिम, स्थानीय आवश्यकता अनुसारको पाठ्यक्रम निर्माण र प्रविधिमैत्री शिक्षण सिकाइ क्रियाकलापलाई विकास गर्न शिक्षामा उल्लेख्य बजेट विनियोजन गर्ने गठबन्धनले प्रतिवद्धता गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विधामा प्रतिनिधित्व हुने गरी यथेष्ट छात्रवृत्तिको व्यवस्था मिलाउने, कृषि उत्पादनमा कृषक लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादन तथा बजार व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकता दिने योजनामा गठबन्धनको प्राथमिकतामा छ ।
लालपूर्जाको लागि निकै लामो समयदेखि संघर्ष गर्दै आइरहेका भूमिहिन, दलित, सुकुम्बासीको समस्या समाधानका लागि पोखरामा गठबन्धनको सरकारले राष्ट्रिय भूमि आयोग मार्फत ५ हजार निस्सा र केहीलाई लालपूर्जा समेत वितरण गरिसकेको छ । अब मंसिर ४ पछि बाँकी रहेका सम्पूर्ण अव्यवस्थित बसोवासी तथा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने गठबन्धनको कार्ययोजनामा उल्लेख छ ।
घुम्ती स्वास्थ्य शिविर, प्रदेश स्तरको आयूर्वेद अस्पताल सम्पन्नताको लागि यथेस्ट रुपमा अनुसन्धान र बजेट विनियोजन, ‘एक घर, एक धारा’ नीतिको प्रभावकारी कार्यान्वयन, निर्वाचन क्षेत्रभित्रका प्रत्येक वडामा कृषिजन्य उत्पादनको संकलन केन्द्र, शिशाघाट सिक्लेस मादी करिडोरको लागि यथेष्ट बजेट विनियोजनलगायत योजना गठबन्धनले अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *