उमेरले पनि ८२ पुगेका चित्रबहादुर केसी यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भए । यो नै अन्तिमपटक रहेको बताउँदै उनी बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ वाट उम्मेदवार बनेका थिए । केसी राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष हुन् ।
यस्तै, अघिल्लो पटक चितवनबाट निर्वाचित भएका नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यसपटक गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । प्रचण्डले उक्त क्षेत्रबाट दोब्बर मतान्तरसहित जित हाँसिल गरे । उनको निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी रहेका थिए ।
चित्रबहादुर केसी र प्रचण्ड मात्र होइन यसपटक राष्ट्रिय राजनीतिमा उदाएका गण्डकी प्रदेशमा हेभीवेट नेता निर्वाचित भएका छन् । लमजुङमा नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र माओवादी महासचिव देव गुरुङको प्रतिस्पर्धा पनि रोचक रहयो । यस प्रतिस्प्र्धामा पृथ्वीसुब्बाले बाजी मारे । बागलुङ २ बाट प्रतिनिधिसभामा सरकारका शिक्षामन्त्रीसमेत रहेका नेकपा माओवादीका देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेकी मञ्जु शर्मालाई पराजित गर्दै पौडेल विजयी भएका हुन् ।
यसपटकको निर्वाचनमा अर्को सबैभन्दा चर्चा स्याङ्जा क्षेत्र नं. २ को रहयो । जसमा नेकपा एमालेकी सचिव पद्मा अर्याल र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचनकै दिन विवाद हुँदा प्रहरीले एक राउन्ड हवाइ फायर पनि गर्नु परेको थियो । मतदान भएको ६ दिन भइसक्दा पनि मतगणना हुन सकेको छैन् । नेकपा एमाले लगायतका दलहरुले नेपाली काँग्रेसले चापाकोट नगरपालिका अन्तर्गत रहेका विभिन्न ४ वटा मतदान केन्द्र कब्जा गरेर मृतक र विदेश गएकाको नाममा मतदान गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएको छ । ती केन्द्रमा पुनः मतदान गर्नुपर्ने उनीहरुको छ । शुक्रबारमात्रै निर्वाचन आयोगको टोली छानविनको लागि स्याङ्जा आएको छ । आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा आएको टोलीले उम्मेदवारसँग भेटघाट गर्ने काम गरेको छ । तर, यता कांग्रेससहितका गठबन्धन घटक पार्टीले भने तत्कालै मतगणना हुनुपर्ने मागसहित उम्मेदवार गुरुङ नै धर्ना बसेका छन् । स्याङ्जा वालिङस्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा एकातर्फ एमालेले पुनः मतदान गर्न नाराबाजी गर्न गर्दै आएको छ भने अर्कोतर्फ नेपाली कांग्रेसले मत गणनाको माग गरेको छ । स्याङ्जाका दुई निर्वाचन क्षेत्रमध्ये १ मा मतगणना सम्पन्न भइसकेको छ ।
राष्ट्रिय राजनीतिमा यसपालि तनहुँको पनि राम्रै चर्चा भयो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका थिए । उनले नेकपा एमालेका एकबहादुर रानालाई हराउँदै अघिल्लो हारको बद्ला लिए । ०४८ देखि निरन्तर संसदीय निर्वाचनमा भाग लिँदै आएका पौडेलले ०७४ मा मात्रै हार व्यहोर्न परेको थियो । पौडेल अघिल्लो पटक तत्कालीन नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए । किसान अहिले गठबन्धन घटक नेकपा एकीकृत समाजवादीमा छन् । उनले पौडेललाई आफ्नो क्षेत्र छोडर बारा ४ बाट जित निकालिसकेका छन् ।
गण्डकीबाट प्रतिनिधि सभामा विजय हुने ‘हेभिवेट’मध्ये नवलपुर क्षेत्र नं. १ का नेपाली कांग्रेसका शशांक कोइराला पनि छन् । उनले नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई पराजित गरेका छन् । अघिल्लो पटक गण्डकीबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा जित निकाल्ने उनी एक्लो थिए । निर्वाचन जितिसकेपछि कोइरालाले आफू प्रधानमन्त्रीका लागि तयार रहेको प्रतिक्रिया दिइसकेका छन् । कोइरालाजस्तै नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्रीका दाबेदार हुन् । तनहुँबाट निर्वाचन जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बन्ने दौडमै छन् । यसअघि १७ पटक प्रयास गर्दा पनि असफल भएका पौडेलले आफू प्रधानमन्त्री हुने नै अन्तिम इच्छा भएको अभिव्यक्ति दिँदै आएका छन् ।