छानविन गर्न आएको निर्वाचन आयोगको टोली फर्कियो

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आइतबार पनि हुन सकेन् । नेकपा एमालेले नेपाली काँग्रेसले बुथ कव्जा गरि मतदान गरेको आरोप लगाएपछि मतगणना हुन सकेको छैन् । सोही विषयलाई लिएर छानविनको लागि निर्वाचन आयोगको टोली स्याङ्जा आएको थियो । आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा शुक्रबार स्याङ्जा आएको छानविन समितिको टोलीले स्याङजा २ का उम्मेदवारसँग छुट्टाछुट्टै भेटेर शनिवार फर्किएको छ ।
वालिङ नगरपालिकासँगै रहेको निर्वाचन अधिकृतको कार्यालयमा टोलीले छलफल गरेको हो । निर्वाचन अधिकृत रामचन्द्र पौडेलले विवाद चुलिदै गएपछि आयोगबाटै छानविन टोली आएको बताउँदै आयोगको निर्णय कुर्ने काम भएको बताए । ‘अन्य विषयमा केही बोल्ने अवस्था छैन’ उनले भने, ‘छानविन टोली आएको छ, आयोगले जे त गर्छ ।’ पुनः मतदान गर्ने या मतगणना गर्ने भन्ने विषयमा आयोगकै निर्णय रहने उनको भनाई छ । यहाँको चापाकोट नगरपालिका अन्तर्गत काँग्रेसले विभिन्न स्थानमा रहेका ४ वटा बुथ कव्जा गरेर फर्जी मतदान गरेको आरोपसहित नेकपा एमाले लगायत दलहरुले पुनः मतदानको माग गर्दै सोमबार निर्वाचन आयोगमा निवदेन दिएका थिए ।
‘बुथ कव्जा गरी मतदान गर्दा काँग्रेसले विदेश गएका र मृत्यु भएका २ सय ९१ जनाको नाममा मत खसालेको छ’ एमाले उम्मेदवार, ‘पद्मा अर्याल भन्छिन, ‘यी बुथमा पुनः मतदान हुनुपर्छ । मरेका र विदेश गएका व्यक्तिले कसरी मतदान गरे यसको जवाफ चाहिन्छ ।’ यतिबेला वालिङमा एमालेले पुनः मतदान र काँग्रेसले मतगणनाको माग राखेको छ । काँग्रेस स्याङ्जाका कार्यवहाक सभापति केदार काफ्लेले मतगणनाको विकल्प नरहेको बताए । ‘हार्ने मानसिकताले एमाले डराएर पुन मतदानको माग गरेको हो, यो सम्भव छैन’ उनले भने, ‘केही दिन रोकिएको हो ढिलोचाँडो मतगणना हुन्छ ।’ उनले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भई मतपेटिका मतगणनास्थल आइपुगेपछि पुनः मतदान सम्भव नहुने बताए । ‘यदी काँग्रेसले बुथ कव्जा गर्दा एमाले उम्मेदवार त्यही हुनुहुन्थ्यो । उही बेलामा मतदान रोकिएको भए पुन मतदान गर्न हामी पनि सहमत हुने थियौ’ उनले भने । चापाकोट नगरपालिका–४ स्थित राम मन्दिर माध्यामिक विद्यालयमा रहेको बुथमा १ हजार ६ सय ४१ जनाको मतदाता नामावली छ । जसमा १ हजार ४ सय ६६ मध्ये १ हजार ४ सय ३८ (९८.०९ प्रतिशत)ले मतदान गरेका छन् । मत खसाल्न बाँकी ३८ छ । जसमा मृत्यु भएका ३१ र विदेश गएका ४२ जनाको नाममा मत खसेको छ ।
मतदाताको नाम र मतदाता नम्बरसहितको प्रमाण एमालेले आयोगमा बुझाएको छ । यस्तै, चापाकोट–३ दिसिङ्कोट आधारभूत विद्यालयमा रहेको बुथमा १ हजार ६ सय ४१ मध्ये मतदाता संख्या छ । १ हजार ५ सय ६० अर्थात ९५.०६ प्रतिशत मत खसेको थियो । जहाँ ८० मत खस्न बाँकी छ । यस बुथमा १४ जना मृत्यु भएका र ३७ जना विदेश भएका व्यक्तिको नाममा मतदान भएको छ । चापाकोट–५ मा रहेको दिनदयालु आधारभूत माविको बुथमा ४ सय ६९ मतदाता रहेकोमा ४ सय ६० अर्थात् ९८.०८ प्रतिशत मत खसेको छ । यहाँ विदेश गएका २० र १ जना मृत्यु भएका व्यक्तिको नाममा मतदान गरिएको छ । यसैगरी, सोही वडाको जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा ९ सय ९१ मतदाता संख्या रहेकोमा ८ सय ९२ अर्थात् ९०.०१ प्रतिशत मत खसेको थियो । जसमा ९९ मत खस्न बाँकी छ । यस बुथमा मृत्यु भएकाको नाममा ११ मत खसालिएको छ भने, विदेश गएका १ सय ३१ जना र मतदाता नामावलीमा नाम भई अन्यत्र मतदान केन्द्रमा खटिएका ४ जना कर्मचारीको नाममा समेत मतदान गरिएको आरोप एमालेले लगाएको छ । उक्त मतदान केन्द्रमा एमाले, राप्रपा, रास्वपा लगायतले पुनः मतदानको माग राखेका छन् । स्याङ्जा दुईमा मुख्य प्रतिस्पर्धीको रुपमा काँग्रेस केन्द्रिय उपसभापति धनराज गुरुङ र एमाले केन्द्रिय सचिव पद्मा अर्याल हुन् । गण्डकी प्रदेशका १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जसमा स्याङ्जा निर्वाचन क्षेत्र २ मा बाहेक अन्यत्र मतगणना सम्पन्न भइसकेको छ । प्रदेशसभामा ३४ वटा निर्वाचन क्षेत्रको नजिता सार्वजानिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *