सुरु भयो स्याङ्जा–२ को मतगणना

Share this post :

Facebook
Twitter
WhatsApp

मतदान भएको १० दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । निर्वाचन आयोगले मंसिर ४ को मतदानलाई सदर गर्दै बुधबार मतगणना गर्न निर्देशन दिएको हो । स्याङ्जाको वालिङ्मा बसेको सर्वदलीय वैठकले बुधबार राती ९ बजेदेखी मतगणना गर्ने निर्णय गरेको भए पनि राती ११ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।
मतगणना वालिङ् नगरपालिकाको भवनमा हुनेछ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चापाकोट नगरपालिका अन्तर्गत नेपाली काँग्रेसले ४ वटा बुथ कव्जा गरि मतदान गरेको आरोप नेकपा एमाले लगायतका राजनीतिक दलले लगाएपछि मतगणना रोकिएको थियो । बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको हो । आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना गर्न आयोगले निर्देशन दिएको हो । स्याङ्जाको चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा ४ को राममन्दिर मावि, वडा ५ का जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदात केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दाबी छ । यी बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मूकदर्शक बनेको एमाले लगायतका दलको आरोप थियो । अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसे पनि त्यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पाटीका टीकराज गुरुङ लगायतले मतदानका भोलीपल्ट (मंसिर ५ गते) आयोगसमक्ष निवदेन दिएर पुनः मतदानको माग राखेको थिए ।
विवाद चुलिदै गएपछि लामोसमयसम्म मतगणना वा मतदान के हुने भन्ने अन्योल थियो । कांग्रेसले भने मतगणना सुरु गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो । मंसिर ४ गते चापाकोट नगरपालिका–१ आंधीचौघेरास्थित भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले सुरक्षाको लागि भन्दै हवाइ फायरसमेत गरेको थियो । वालिङमा रहेको निर्वाचन अधिकृतको कार्यालयअघि एमाले र काँग्रेसका छुट्टाछुट्टै दवावमुलक आन्दोलन भएका थिए । यस्तै, काँग्रेसले चापाकोट नगरपालिका–१ को भानु मावि आँधीचौघेरा, गल्याङ नगरपालिका–७ मनहरिखर्कको मतदान केन्द्र, कालीगण्डकी गाउँपालिकाको अमरदीप मावि र कोटाकोट आधारभूत विद्यालय केन्द्रमा एमालेले बुथ कब्जा गरेको आरोप लगाएको थियो । स्याङ्जा दुईमा मुख्य प्रतिस्पर्धीकोरुपमा काँग्रेसबाट केन्द्रिय उपसभापति धनराज गुरुङ, एमालेबाट केन्द्रिय सचिव पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *