टुक्रे योजनालाई निरुत्साहित गर्न पहल गरेः अर्थमन्त्री बराल

Share this post :

Facebook
Twitter
WhatsApp

१८ महिने कार्यकाल सम्पन्न गरेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारबाट कार्यान्वयन हुने टुक्रे योजना निरुत्साहित गर्न आफूले पहल गरेको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा संचारकर्मीसँग भेट्घाट गर्दै उनले डेढ वर्षिय छोटो कार्यकाल अविस्मरणीय रहेको दावी गर्दै प्रदेश सरकारले हजार र लाखका योजना कार्यान्वयन गर्न नहुने बताए ।
बजेट थोरै योजना धेरै हुदाँ विकास निर्माणका योजना प्रभावकारी नहुने उनले बताए । ‘गत आर्थिक बर्षहरुको बजेट कार्यक्रमको तुलनात्मक अध्ययन गर्दा हामीले बजेट निर्माण गर्दा साना र ट्ुक्रे योजनालाई निरुत्साहित गर्दै ठूला, परिणाममुखी योजना निर्माणतर्फ ध्यान दिन खोजेको संकेत प्रष्टरुपमा देखिन्छ’ उनले भने, ‘५ करोड भन्दा तलका योजनालाई सम्बन्धित मन्त्रालयमा उपलब्ध हुने स्रोतको र प्राथमिकताको आधारमा व्यवस्था हुने गरी सो भन्दा माथिका मात्र योजनालाई बहुबर्षीय योजनाको रुपमा लैजाने सक्ने व्यवस्था गरिएको छ ।’ अर्थमन्त्री बरालले संघियता कार्यान्वयनसँगै स्थापित तीन तहका सरकार भएपछि सांसदमुखी बजेट राख्नु उचित नहुने बताए ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नसमेटिए बताउदै उनले भने, ‘दवावसँगै माग भएपछि अन्ततः राख्न बाध्य भइयो । तर, अहिलेसम्म न बजेट छ न कार्यविधि नै ।’ अर्थ विविधमा राखिएको १ अर्व रकममध्ये ७२ करोड छुट्याएर सरकारले पूर्वाधार विकास कार्यक्रम ल्याएको उनले बताए । तत्कालीन सत्तारुढ दल काँग्रेस माओवादीका प्रतिसांसदलाई ५ करोड रुपैयाँ बराबरको योजना बाडिएको र प्रतिपक्षलाई कम बजेटका योजना दिएको विषयमा पनि उनी बोलेका थिए । सांसदमुखी बजेट वितरण कार्यक्रम हटाउन पहल गर्दागर्दै पनि आफू सफल नभएको उनले बताएका थिए । डेढ बर्षीय छोटो कार्यकालमा पनि प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न आफूले प्रयास गरेको बराल बताउँछन् ।
राजश्व अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने हिसाबले आर्थिक ऐनमा राजश्वको दर र दायरामा प्रगतिशील करको सिद्धान्तलाई आधार मानि परिमार्जन गर्दा आफु केही आलोचित भए पनि त्यसले समग्र प्रदेशको आन्तरिक श्रोत बृद्धि हुुने दावी उनले गरे । २०७८ श्रावण ८ देखी गण्डकी प्रदेशको अर्थमन्त्रीको रुपमा कार्यभार सम्हालेको उल्लेख गर्दै बरालले वित्तिय श्रोतको प्रभाबकारी र समुचित उपयोगबाट प्रदेशमा आर्थिक सन्तुलन कायम गर्दै समुन्नत र समृद्ध प्रदेश निर्माणको अभियानमा टेवा पुयाउन सफल भएको बताए । उत्पादन र उत्पादकत्व अभिबृद्धि, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी, स्वच्छ खानेपानी र नवीकरणीय उर्जा, शिक्षा र सामाजिक विकास, स्वास्थ्य सेवाको सुदृढिकरण, पर्यावरणीय संरक्षण, पुर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह र सुशासन प्रवद्र्धन प्रदेशको मुख्य प्रथामिकतामा रहेको मन्त्री बरालले बताए । गण्डकी प्रदेशमा आयात प्रतिस्थापन गर्नको लागि कृषि उत्पादन तथा उत्पादकत्व बढाउन र सो बजारीकरण गरी व्यवस्थित बनाउन एक निर्वाचन क्षेत्र एक कृषि सडकको अवधारणासहित बजेट व्यवस्था गरिएको मन्त्री बरालले बताए । उनले अव आउने सरकारलाई प्रदेश गौरवका योजनालाई प्रथामिकता दिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *