स्याङ्जाको वालिङमा सम्पन्न ‘प्रथम वालिङ गोल्डकप २०७९’ को उपाधि वालिङ युनाईटेड निलोले जितेको छ । फाईनल खेलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै निलोले उपाधि जितेको हो । वालिङ युनाईटेड फुटबल क्लबले पुस ३० गतेदेखि वालिङ ८ स्थित खेलमैदानमा आयोजना गरेको राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा वालिङ निलो एभिनियरमाथि ट्राईब्रेकरबाट ४–३ ले बिजयी भएको हो । ९० मिनेटको निर्धारित समयमा दुबै पक्षबाट गोलरहित बराबरी खेलेपछि ट्राईब्रेकरबाट उपाधिको टुङ्गो लगाईएको थियो ।
प्रतियोगिताको बिजेता वालिङ युनाईटेड फुटबल क्लबले नगद पाँच लाख र ट्रफी हात पारेको छ । उपबिजेता भएको एभिनियर फुटबल क्लब क्यामरुनले नगद दुई लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ । नेपालका विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुन, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, लिस्नु फुटबल क्लब रुपन्देही, साहारा क्लब पोखरा र आयोजक वालिङ युनाईटेड निलो र रातो गरी कूल ८ टिमको सहभागिता रहेको थियो ।
