गण्डकी विश्वविद्यालयले पहिलोपटक ‘कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता’ आयोजना गरेको छ । कुलपति रनिङ सिल्ड फुटवल पोखरा रंगशालामा हुने गण्डकी विश्वविद्यालयले जनाएको छ । प्रतियोगिता आजदेखी सुरु हुदै छ । उक्त खेल माघ १३ सम्म संचालन हुने हुने प्रतियोगिताका संयोजक मधुसुधन सुवेदीले जानकारी गराए ।
गण्डकी विश्वविद्यालयमा स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । पठनपाठनसँगै यस्ता प्रतियोगितालाई पनि प्राथमिकता दिनुपर्ने सुवेदीले बताए । ‘विविले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको छ’ उनले भने । फुलस्वरुप समग्र खेलकुदको विकास, सम्बर्धन, प्रबर्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न प्रतियोगिताको आयोजना गरेको उनले बताए ।
प्रतियोगितामा कास्की जिल्लाबाट पहिलो ६ टिम र अन्य १० जिल्लाबाट ३ टिमको सहभागी हुने उनले बताए । प्रतियोगितामा १२ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताका सम्पूर्ण खेल नकआउट चरणमा खेलाइने उनले आयोजिक विविले जनाएको छ । माघ ९ बाट सुरु हुने प्रतियोगिताको सेमिफाइनलको खेल माघ १२ र फाइनल खेल माघ १३ मा हुनेछ । प्रतियोगितामा पहिलो खेल र फाइनल खेल पोखरा रंगशालाभित्रको ग्राउण्डमा हुनेछ भने बाँकी खेल रंगशालामा रहेको स्टेडियम बाहिरको ग्राउण्डमा गरिने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ दि टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको पुरस्कार व्यवस्था गरिएको छ । प्रतियोगिताका निम्ति फस्ट कम फस्ट इन तरिकाले टिमको दर्ता गराइएको थियो । अन्य जिल्लाबाट कोटा पूरा नभएपछि कास्कीका इच्छुक विद्यालयबाट सहभागी गराउन सकिने प्रावधान अनुसार गण्डकी प्रदेशका सबै जिल्लाका माध्यमिक विद्यालयले (१०+२) सहभागिता जनाउन पाउने प्रावधान थियो । सोहि बमोजिम नै टीम दर्ता गराइएको सुवेदीले जानकारी गराए ।
गण्डकी प्रदेशले स्थापना गरेको गण्डकी विश्वविद्यालयले आजको आवश्यकता र भोलिको सम्भावनालाई विशेष ध्यान दिँदै आफ्ना शैक्षिक कार्यक्रम अघि बढाइरहेको दाबी गर्दै आएको छ । नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापित गण्डकी विश्वविद्यालयले स्थापना भएको छोटो समयमै अलग पहिचानका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको जानकारी गराइएको छ ।
खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको डिग्री कार्यक्रमको समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने उद्देश्यले कुलपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सीनाले बताए । गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको र हाल १५ जना विद्यार्थीले पठनपाठन गर्दै आएको उनले जानकारी दिए । २०७७ मा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ ।
