मन्त्रीले गरे पदभार ग्रहण

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा मन्त्रिपरिषदले पूर्णता पाएको छ । मंगलबार मन्त्री नियुक्त भएपछि सरकारले पूर्णता पाएको हो । गण्डकी प्रदेशका मन्त्रीले बुधबार पदभार ग्रहण गरेका छन् । यस प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद रहनेछ । यसअघि मुख्यमन्त्री अधिकारीसहित पुस २५ मा ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् ।
मंगलबार मन्त्री नियुक्त हुनेमा एमालेका रोशनवहादुर गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’, माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली रहेका छन् । मुख्यमन्त्री अधिकारीले तीनै मन्त्रि नियुक्त गरेपछि मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । यसअघि एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
रेशमबहादुर जुग्जालीलाई माओवादी गण्डकी संसदीय दलले सोमबार नै सरकारमा सहभागी गर्ने निर्णय गरेको थियो । उनलाई मुख्यमन्त्री अधिकारीले उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका जुग्जाली गत स्थानीय निर्वाचनमा भने मालिका गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । तत्कालीन सत्ता गठबन्धनबाट गाउँपालिका अध्यक्ष हारे पनि उनले गत प्रदेशसभा निर्वाचनमा प्रदेश सांसदका लागि टिकट पाएका थिए ।
३९ वर्षीय जुग्जाली म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित भएका हुन् । एमालेका मन्त्री भएका रोशनबहादुर गाहा मगरले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पूर्वी नवलपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित भएका थिए । उनी यसअघि पनि प्रदेशसभा सदस्य नै थिए ।
अघिल्लो कार्यकालमा नै मन्त्री हुने भनिए पनि उनलाई मन्त्री बनाइएको थिएन् । नेकपा एमाले गण्डकी प्रदेशसभाको प्रमुख सचेतक समेत रहेका मगर अघिल्लोपटक सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीमा थिए । यस्तै, एमालेबाटै मन्त्री बनेका वेदबहादुर गुरुङ श्यामले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् । कास्की १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ २०६४ मा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य थिए । उनी ०७४ को निर्वाचनमा कास्कीको मादी गाउँपालिका संस्थापक अध्यक्ष भइसकेका छन् ।
गुरुङ राजनीतिककर्मी मात्र नभई कलाकारको दृस्टीकोणबाट पनि चिनिन्छन् । राजनीतिसंगै लामोसमय कलाकारितामा लागेका वेदबहादुर गुरुङ श्यामले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् । यसैगरी, विनाविभागीय मन्त्रीलाई पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छ । माओवादीका तर्फबाट यसअघि नै हरिबहादुर चुमान नियुक्त भएका थिए ।
उनी तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् । यसअघि पनि चुमान प्रदेशको आन्तरिक मामिला मन्त्री भएका थिए । उनको यो दोस्रो कार्यकाल हो । माओवादीको नेतृत्व गर्दै सरकारमा भएका चुमानले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यस्तै, एमालेबाट मन्त्री भएकी सीता सुन्दासले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनी स्याङ्जा १(१) बाट प्रदेशसभामा निर्वाचित भएकी हुन् । उनलाई गण्डकी प्रदेश सरकारको पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
यसअघि स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख रहेकी सुन्दास जिल्ला समन्वय समिति महासंघकी संस्थापक अध्यक्षसमेत हुन् । राप्रपाबाट विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका पञ्चराम गुरुङले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
गुरुङ राप्रपा गण्डकी प्रदेश अध्यक्ष हुन् । समानुपातिकबाट प्रदेशसभा सदस्य भएका उनी राप्रपाको संसदीय दलको नेता हुन् । अघिल्लो कार्यकालमा शून्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी समानुपातिकबाट दुई सिट ल्याएर प्रदेशसभा प्रवेश गरेको छ । उनले पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले प्रदेशका १२ मन्त्रालयमा ५ घटाएर ७ मन्त्रालयमा झार्ने निर्णय गरेको थियो । एमालेका पृथ्वीसुव्वा गुरुङले ७ वटा मन्त्रालयलाई टुक्राएर ११ वटा बनाएका थिए । त्यसपछि काँग्रेसका कृष्णचन्द्र नेपालीले पुनः एक मन्त्रालय थप गरेर १२ पुयाएका थिए ।
मन्त्रालयको संख्या बढेपछि आर्थिक भार पनि बढेको भन्दै चौतर्फी विरोध भएको थियो । मुख्यमन्त्री पदमा नियुक्त भएपछि अधिकारीले मन्त्रालयको संख्या घटाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तर्क राख्दै आएका थिए । मन्त्रालयको संख्या घटाइएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री खगराज अधिकारी सोमबार मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न काठमाडौं गएका थिए । मंगलबार विहान ११ बजे पोखरा फर्किएपछि मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । स्रोतका अनुसार एमालेमा भागवण्डा नमिलेपछि उनी काठमाडौ गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *